नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनका कारण समस्यामा परेका उद्योगीलाई तत्काल रिफाइनान्सिङको व्यवस्था मिलाउन आवश्यक रहेको बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको समस्या भूकम्प र कोभिड–१९ जस्ता विगतका संकटभन्दा फरक रहेको उल्लेख गरे।
मल्होत्राले भने, “यो समस्या फरक छ। सरकारले पुनरोत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक छ।” उनले राष्ट्र बैंकमार्फत बेस रेटमा कर्जा उपलब्ध गराउनुपर्ने आवश्यकता पनि औंल्याए।
उनका अनुसार वर्तमान चुनौती दुई पक्षमा देखिन्छ: पहिलो, देशभित्रको पैसा विदेशतिर पलायन भइरहेको छ; दोस्रो, दक्ष युवा वैदेशिक रोजगारीतर्फ बाहिरँदैछन्। उनले ११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएको तथ्यांक उल्लेख गर्दै नेपालको जनशक्ती घट्दो अवस्थामा रहेको बताए।
मल्होत्राले आन्दोलनका क्रममा व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको विषयमा चिन्ता व्यक्त गर्दै भने, “उपेन्द्र महतोको घरमा तोडफोड गर्ने आन्दोलनकारीले यत्रो सम्पत्ति कहाँबाट आयो? व्यवसायीले कर तिरेर कमाएको सम्पत्तिमा नकारात्मक टिप्पणीले देखाउँछ कि नेपालमा व्यवसायी सुरक्षित छैन।”
उद्योगीलाई देशको अर्थतन्त्रको मेरुदण्ड मानेर पहिलो प्राथमिकतामा राखेर सरकारले काम गर्न आवश्यक रहेको मल्होत्राको सुझाव थियो।
