जेनजी आन्दोलनको प्रभावस्वरूप बैंकिङ क्षेत्रमा असामान्य रूपमा नगद निक्षेप बढेको देखिएको छ। पछिल्लो दुई सातामा मात्र वाणिज्य बैंकहरूको निक्षेप ६३ अर्ब २२ करोड रुपैयाँले उक्लिएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ।
बैंकका अनुसार हाल बैंकहरूमा हजार र पाँच सय दरका ढुसी गह्नाएका पुराना नोटको बाढी आएको छ। एक बैंकरले भने, “यी नोटहरू लामो समयदेखि चिसो कोठा वा गुफा जस्ता स्थानमा भण्डारण गरी राखिएको जस्तो देखिन्छ।”
जेनजी आन्दोलनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री दीपक खड्कालगायतका नेताको घरमा ठूलो मात्रामा नगद भेट्टिएको र केही नोट जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरू घरमा नगद राख्न डराइरहेको अनुमान गरिएको छ।
कतिपय बैंकरले आन्दोलनकै क्रममा लुटिएको वा जल्नबाट जोगिएका नोटहरू सानो–सानो भागमा जम्मा हुन थालेको शंका व्यक्त गरेका छन्। केही बैंकले त जलेका नोटहरू चोरीको हुनसक्ने भन्दै स्वीकार नगर्ने नीति लिएका छन्।
नेपाल राष्ट्र बैंकको चलनचल्तीको तथ्यांकले पनि यो प्रवृत्तिलाई पुष्टि गर्छ। आन्दोलन सुरु हुनुअघि २२ भदौमा चलनचल्तिमा ७ खर्ब ३९ अर्ब रुपैयाँ थियो, भदौ ३० सम्म यो मात्र ५ अर्ब बढेर ७ खर्ब ४४ अर्ब पुग्यो। दशैंको घटस्थपनासम्म यो ७ खर्ब ६१ अर्ब पुगेको छ, जबकी अघिल्लो वर्षको त्यही अवधिमा ३० अर्बभन्दा बढीले वृद्धि भएको थियो।
सामान्यतया दशैं अवधिमा खाताबाट नगद झिक्ने चाप अत्यधिक हुन्छ, तर यसपालि बैंकबाहिरको नगद वृद्धि अघिल्ला वर्षको आधामात्र देखिएको छ। बजारमा रेमिट्यान्सको निरन्तर आपूर्ति, आयात–निर्यातको सुधार र आर्थिक गतिविधि सामान्य भइरहेका अवस्थामासमेत यस्तो सुस्त वृद्धि हुनु, जनताको बैंकमा पैसा राख्ने डरको परिणाम भएको विशेषज्ञहरूको निष्कर्ष छ।
बैंकहरू अहिले ढुसी गह्नाउने नोटहरूको परीक्षणमा व्यस्त छन् भने वित्तीय विश्लेषकहरूले यो असामान्य निक्षेपलाई आन्दोलनपश्चात् देशको अस्थिर राजनीतिक अवस्थासँग जोडेर हेरेका छन्।

