झापा इनर्जीको आईपीओ बाँडफाँट : ४७ हजारभन्दा बढी लगानीकर्तालाई भाग

झापा इनर्जी लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सम्पन्न बाँडफाँटपछि ४७ हजार ३३३ जनाले शेयर प्राप्त गरेका छन्।

कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि निष्काशन गरेको थियो। उक्त आईपीओमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयरका लागि आवेदन दिएका थिए।

जसमा १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको छ। बाँडफाँट अनुसार ४७ हजार ३३३ जनाले प्रत्येकी १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी शेष रहेको ६ कित्ता शेयर सोही समूहका लगानीकर्तामध्ये ६ जनालाई प्रत्येकी १–१ कित्ता थप दिइएको छ, जसअनुसार उनीहरूले ११ कित्ता शेयर प्राप्त गरेका छन्।

उच्च आवेदनका कारण अधिकांश लगानीकर्तालाई भाग्यको भरमा मात्र शेयर प्राप्त भएको छ भने बाँडफाँट नपरेका आवेदकले आफूले भरेको रकम केही दिनमै बैंक खातामा फिर्ता पाउनेछन्।