चितवनको इच्छाकामना स्थित तुइनखोलामा बुधबार दिउँसो ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ।
सडक खुलाउन ४ वटा डोजर परिचालन गरिएको भए पनि लगातार वर्षाका कारण काम रोकिएको छ। सडक पुन: सञ्चालनमा आउनमा करिब २–३ दिन लाग्न सक्ने अनुमान गरिएको छ।
सडक विभागले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साना सवारी साधनहरूले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखुसम्म जाने मार्ग प्रयोग गर्न सक्ने जानकारी दिइएको छ। अन्य विकल्पको रूपमा हेटौँडा–भीमफेदी र मलेखु–नौबिसे–त्रिभूवन राजपथ पनि सुझाइएको छ।
सडक खुल्न नसक्दा यात्रुहरू अलपत्र पर्ने स्थिति सिर्जना भएको छ।
