नेपालका श्रमिक, आप्रवासी र पर्यटक भिसामा अन्य देश जानुका कारण उत्पन्न समस्याबारे छलफल गर्न गृह मन्त्रालयको अध्यागमन विभागले विदेशस्थित नेपाली राजदूतहरूसँग ‘भर्चुअल’ बैठक गरेको छ।
बैठकमा ९ देशका नेपाली राजदूत र दूतावासका अधिकारीहरूले वैदेशिक रोजगारीमा देखिएका समस्याहरू, बिचौलियाको प्रभाव र नागरिक सुरक्षा सुनिश्चित गर्न रणनीतिहरूको विषयमा छलफल गरेका थिए।
विशेष गरी जेनजी आन्दोलनपछि यूएई र अन्य खाडी मुलुकमा कडाइका कारण उत्पन्न समस्याहरूमा ध्यान दिइएको थियो। युनाइटेड अरब इमिरेट्स, कतार, मलेसिया र थाइल्यान्ड लगायतका देशका दूतावाससँग दीर्घकालीन समाधानका लागि रणनीति तय गर्न अनुरोध गरिएको छ।
बैठकमा भिजिट भिसामा जाने नेपालीको बीमा अनिवार्य गर्ने, दूतावासमा कर्मचारी अभाव समाधान गर्ने र स्थानीय तहमा वैदेशिक रोजगारका क्षेत्रहरूलाई व्यवस्थित गर्न सचेतना अभियान आवश्यक रहेको विषयमा जोड दिइएको थियो।
साथै, यूएई, कुवेत र अन्य खाडी मुलुकमा वैदेशिक रोजगारका क्षेत्रमा व्यवस्थापन सुधारका लागि सल्लाह र रणनीति बनाउने काम सुरु गरिएको विभागले जनाएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            