दशैं यात्रा अवरुद्ध: वर्षाले देशभर ५ सडक पूर्ण बन्द

महान चाड विजयादशमी नजिकिँदै जाँदा घर फर्किने यात्रुहरूको चाप दैनिक बढ्दै गएको छ । तर लगातारको वर्षाका कारण देशभरका राजमार्ग र सडकहरू अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। नेपाल प्रहरीको यातायात शाखाले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र सतर्क रहन आग्रह गरेको छ।

आज बिहान ८ बजे सम्मको तथ्यांक अनुसार देशभरका ५ सडकखण्ड पूर्णरूपमा बन्द भएका छन् भने ४ सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।

कोशी प्रदेशमा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ अन्तर्गत कोशी राजमार्ग पूर्ण रूपमा बन्द छ। बागमती प्रदेशमा गोसाईकुण्ड गाउँपालिका–२ अन्तर्गत नेपाल–चीन नाका जोड्ने पुल र इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्।

त्यस्तै, रुकुमको भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा बन्द छ।

यता, रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रु सडक, बागलुङ गाउँपालिका–१३ कालाखेलको कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर र पैसठ्ठि मोड क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

सडक अवरुद्धका कारण काठमाडौं बाहिरका शहरहरूमा गन्तव्य भएका यात्रुहरूलाई अत्यधिक समस्या परेको छ। सम्बन्धित स्थानहरूमा सडक मर्मत कार्य भइरहेको र आगामी केही घण्टामा सडक सुचारु हुने अपेक्षा गरिएको छ।