दशैंमा टीकाभन्दा टुरको क्रेज

घरको पूजा, टीका–जमरा र परिवारको भेटघाट दशैंको पुरानो परम्परा हो। तर पछिल्ला वर्षमा नेपालीहरूको दशैं मनाउने शैली बदलिँदै छ। लामो बिदालाई घरभित्र सीमित नराखी नयाँ ठाउँ हेर्ने, मन–शरीर दुवैलाई ताजा पार्ने चाहनाले धेरैलाई देश–विदेशको रमणीय गन्तव्यतर्फ तानेको छ।

अब दशैं केवल टीकाको दिन मात्र नभई विमानस्थलको चहलपहल र पासपोर्टको पानामा नयाँ छाप थप्ने समय पनि बनेको छ। वर्षभरको व्यस्तता र फरक अनुभूति खोज्ने चाहनाले दशैं–तिहार सिजन घुमफिरका लागि ‘पिक टाईम’ भएको ट्राभल एजेन्सीहरूले बताएका छन्।

थाइल्याण्डको सुनौलो समुद्री तट, दुबईको बुर्ज खलिफा, इन्डोनेसियाको बाली, चीनको ग्रेट वालदेखि भियतनामका अद्भुत झरनासम्म पुग्ने नेपालीको संख्या तीव्र गतिमा बढ्दैछ। देशभित्रका गन्तव्य मात्र होइन, विदेशतर्फको आकर्षण झन् तीव्र छ।

ट्राभल एजेन्सीहरूले दशैंलाई लक्षित गर्दै थुप्रै प्याकेज बजारमा ल्याएका छन्। दुबईको ४ रात ५ दिनको भ्रमण ७० हजार ५ सय रुपैयाँमा गर्न सकिनेछ। थाइल्याण्डका लागि विभिन्न अफर छन्—एस ट्राभल्सको पाँच दिनको प्याकेज ८२ हजार २०० रुपैयाँ, ग्रेस होलिडेजको ५९ हजार ५०० रुपैयाँ र सेभेन प्लस होलिडेजको ४९ हजार ५०० रुपैयाँसम्ममा बैंकक–पटाया भ्रमण सम्भव छ। सिम्रिक एडभेन्चर्सले बैंकक–फुकेट–क्रबि ७ रात ८ दिनको अफर ९९ हजार ५०० रुपैयाँमा ल्याएको छ।

माल्दिभ्सका लागि होलिडेज टु नेपालले ३ रात ४ दिनको टुर १ लाख ५० हजार रुपैयाँमा, ग्रेस होलिडेजले १ लाख १९ हजार ५०० रुपैयाँमा प्याकेज बिक्री गर्दैछन्। इन्डोनेसियाको बाली चार रात पाँच दिनका लागि करिब १ लाख ३० हजार रुपैयाँ पर्छ।

दार्जिलिङ–दुबई टुर दृश्य ट्राभल्स एण्ड टुर्सले ८९ हजार ९९९ रुपैयाँदेखि ल्याएको छ। चीन भ्रमणका लागि एस ट्राभल्सले १ लाख ४९ हजार ९०० रुपैयाँको ४ रात ५ दिनको प्याकेज अघि सारेको छ, जसमा बेइजिङ र शंघाई दुवै घुम्न पाइन्छ।

नजिकको गन्तव्य गोवा ३ रात ४ दिनमा २५ देखि ५५ हजार रुपैयाँमा घुम्न सकिन्छ। शिखर होलिडेजले माल्दिभ्स–श्रीलंका कम्बो टुर ६ रात ७ दिनका लागि १ लाख ५० हजारदेखि शुरु हुने अफर ल्याएको छ। भियतनामको ४ रात ५ दिनको प्याकेज करिब १ लाख १० हजार रुपैयाँमा उपलब्ध छ।

यस्तै, बाली–सिंगापुर–मलेसिया कम्बो टुर १० रात ११ दिनमा १ लाख ५४ हजार ५०० रुपैयाँमा यात्रा गर्न सकिनेछ।

ट्राभल व्यवसायीहरूका अनुसार दशैंमा देश–विदेश घुम्न निस्कने नेपालीको संख्या वर्षेनी बढ्दो छ। “दशैंको विदालाई परिवार वा साथीहरूसहित रमाइलो गर्न चाहनेको संख्या हरेक वर्ष दोब्बर हुँदैछ,” ग्रेस होलिडेजका प्रतिनिधिले बताए।

परम्परागत टीका–जमरा भन्दा नयाँ ठाउँ हेरेर नयाँ अनुभव जोड्न चाहने नेपालीका लागि यो दशैं ‘उत्सवसँगै यात्रा’को उत्कृष्ट अवसर बन्दै गएको छ।