रंगीन दशैं

दशैं संघारमै छ । रेडियो र टेलिभिजनमा मंगलमय धुन गुन्जिन थालिसकेका छन् । सहर किनमेलमा व्यस्त छ ।

टीका थाप्न घर फर्किनेहरू टिकटको खोजीमा लागिपरेका छन् । दसैं कसरी मनाउने ? मान्छेहरू उमेर र परिस्थिति सुहाउँदो योजना बनाइरहेका छन् । चित्रकार अरुणा हिङमाङले चाहिँ दसैंका लागि एउटा खाली क्यानभास छुट्याएकी छन् । फेस्टिभ मुड बनाएर सान्दर्भिक चित्र कोर्ने उनको मनसाय छ । दसैंमा नवदुर्गाको आरधना महत्त्वपूर्ण मानिन्छ । अरुणाले प्रायस् वर्ष कुनै न कुनै देवीको अवतार उतारेकै हुन्छिन् ।

नारी संवेदनामा कुची लगाउने उनका लागि नवदुर्गा जस्तो गहिरो विषय अरू के हुन सक्ला रु क्यानभास रंगाउनुभन्दा अघि कल्पनामा डुब्नुपर्छ । त्यसमा आकृतिमात्रै कोर्नु चित्र होइन । समय सान्दर्भिक तार्किकपूर्ण सन्देश दिन सक्नु पनि कलाको क्षमता मानिन्छ । अरुणाले नवदुर्गाको कन्सेप्टमा केही फरक स्वाद चखाउने सोच बनाइन् । ‘दसैं स्पेसल केही कोर्न मन लाग्यो,’ उनले भनिन्, ‘दुर्गा देवीको कोमलता र क्रूरता दुवै गुण देखाउने सोचमा छु ।’

कल्पना गरेअनुसार उनले क्यानभासमा रंग पोत्न थालिन् ।
एक हातमा औजार र अर्को हातमा कमलको फूल लिएकी देवीको आकृति अरुणाले पोतिन् । उनले नारी जति कोमल हुन्छन् आवश्यक परे उति कठोर पनि भन्ने भाव चित्रमार्फत दर्शाएकी हुन् ।

मिथिला चित्र कोर्ने अजितकुमार साहलाई देवीदेवताको चित्र कोर्नु लतजस्तै छ । सीता जन्मथलो जनकपुरमा हुर्केका उनले सानैदेखि देवीको महिमा महसुस गर्दै आएका थिए । त्यसैले उनी चित्रमा पनि धार्मिक पक्षलाई महत्त्व दिन्छन् । नवदुर्गाको आस्था उनले क्यानभासमा बेग्लै ढंगले पस्किएका छन् ।

जसरी एउटा नारीलाई सोह्र शृंगारमा सजिन जति मेहनत गर्नुपर्छ उति नै देवीको आभूषण आकृति रंगमा सजाउन रमाइलो लाग्ने अजितले सुनाए ।

उनी भन्छन्, ‘देवी सिंगार्दा आफूलाई क्रिएटिभ भएको अनुभव गर्छु,’ उनी थप्छन्, ‘मानौं ब्युटिसियन र मेरो रंग मेकअपको सामग्री ।’ उनले द्वन्द्व र अशान्ति हटेको विश्वास झल्काउँदै चित्रमा देवीको हातमा औजार नभई आशीर्वाद दिइरहेको मुद्रा उतारेका छन् । अझै सुन्दर पक्षचाहिँ उनले मिथिला बुट्टामा मौलिकता झल्काउँदै दुर्गा देवीको मिथिला फ्लेवर दिएका छन् ।
पाका चित्रकार समुन्द्रमान सिंहले पछिल्लो केही वर्ष दुर्गा देवीका अवतार क्यानभासमा सजाएका छैनन् । तर, जति सजाएका थिए, ती सबै उनका अझै पनि महत्त्वपूर्ण र विशेष खोजी गरिएका सिर्जनामध्ये मानिन्छ । उनी व्यावसायिक भएर देवीदेवताको चित्र कोर्दैनन् ।

दसैंमा पूजा गरिने दुर्गा उग्रचण्डी, आठ मातृका देवी, चण्डी माता, कौमारी, भगवती माता लगायत देवीका चित्र समुन्द्रमानले ग्राहकको अनुरोधमा भन्दा पनि आफ्नो स्वेच्छाले कोरेका थिए । ‘कहिलेकाहीँ आफ्नो सन्तुष्टिमा काम गरिँदोरहेछ,’ उनी भन्छन् ।
समुन्द्रले दुई वर्षअघि कौमारी देवीको चित्र विदेशीले खरिद गर्दाको क्षण अझै सम्झन्छन् । उनी आफ्नै घरमा बसेर काम गरिरहेका थिए । क्रोधित भैरवलाई शान्त पार्न कौमारीले राँगाको रक्तपान गराउँदै गरेको आकृति देखेर ती विदेशी हेरेको हेरै भए । उनले समुन्द्रलाई स्टोरी एक्सप्लेन गर्नसमेत लगाए । जब पेन्टिङमार्फत कौमारीको मिथक थाहा पाए, विदेशीले कुनै पनि हालतमा मलाई यो चित्र चाहिन्छ भन्दै समुन्द्रलाई अनुरोध गरे । ‘उसबेला साह्रै गौरव लागेको थियो, आफ्नो धर्म र संस्कृति देखेर,’ समुन्द्र भन्छन्, ‘ऊ मलाई त्यही चित्रले गर्दा अझै सम्झन्छ ।’

शक्तिकी प्रतिमूर्ति नवदेवीको आकृति उतार्नुभन्दा त्यसको गहनतालाई रंगमा देखाउन सकिन्छ कि सकिँदैन रु परम्परागत चित्र कोर्ने कलाकारमा यो ठूलो चुनौती हुन्छ । खासगरी पौवा, थांका अर्थात् परम्परागत चित्रकारले धार्मिक आस्था राखेर सिर्जना कोर्ने गर्छन् । उनीहरूका लागि चित्र कोर्नु व्यावसायिक पक्ष हो भने अर्कोतर्फ अप्रत्यक्ष रूपमा मौलिकताको जगेर्ना गर्नु । भक्तपुरका चित्रकार पुरन हेंजुले देवीदेवताका चित्रको महत्त्व निकै नजिकबाट बुझेका छन् ।

उनले आफूले त देवीका चित्र कोरेका छैनन् तर, अरूले कोरेका महत्त्वपूर्ण चित्रहरू भने संकलन गरेर ढुक्क छन् । मानिक मान चित्रकार, धनबहादुर चित्रकार, उदयचरण श्रेष्ठलगायतले कोरेका अमूल्य देवीदेवताका सिर्जना पुरनले कलेक्सन गरेको बताए । महाकाली, चामुण्डा, भद्रकाली, ब्रह्मायणी लगायत देवीको दसैंमा बढो महत्त्वका साथ पूजा गर्ने गरिन्छ । पुरनले संकलनमा राखेर पछि व्यवस्थित रूपमा ग्यालरी खोजी सजाएर राख्ने योजना बुनेका छन् । ‘यी चित्र मात्रै होइनन्, अमूल्य सम्पत्ति हुन्,’ उनी भन्छन्, ‘यस्ता धार्मिक चित्रमा आस्था छुपेको हुन्छ जसको कुनै मूल्य हुँदैन ।’

 

कान्तिपुरबाट साभार