नवरात्रिको नवौँ दिन : आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजा

आज नवरात्रिको नवौँ दिन । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको – वधले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असुरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।

नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । बलि दिन आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा धेरै घुइँचो हुन्छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने चलन छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।