आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो ।
आजको दिनको अर्को महत्त्व छ, आजको दिन धनधान्य कि देवी भगवान् लक्ष्मी राती पृथ्वी लोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जस जसले राती नसुतेर भगवान् लक्ष्मी माताको भजन भक्ति गरेर बसेका छन् उनीहरूलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।
अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको सुरुवाती सङ्केतका रूपमा पनि लिइन्छ ।
कोजाग्रत पूर्णिमा पछि सुरिलो बाँसलाई काटेर त्यस्तो टुप्पामा रङ्गिन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे बत्ती बाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लँदै गरेको चन्द्रमा अनि बाँसको टुप्पामा बलेको आकाशे बत्ती एकदमै आकर्षक दृश्य हुने गर्दछ ।
तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एक प्रकारको जूवा जस्तै हो, साना साना कौडाहरूलाई हातले खालमा फालेर त्यस कौडाहरूको उल्टाई र फर्काई को सम्भाव्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, । आजका दिन तराइका अधिकांश गाँउहरुमा ठुलो स्वरले मार्रा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ ।
यसै वर्ष विवाह भएका नवदम्पतीहरूलाई भनेँ बेहुलाको घरमा बेहुलीका तर्फबाट व्यञ्जनहरू पठाउने चलन छ, यस्ता व्यञ्जनहरूमा मिठाई, भोजन, दही लगायतका परिकारहरू अनि बेहुली गाउँमा बनाएको पान पनि पठाइन्छ ।
यी व्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्ष रुपमा बेहुली पक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरू लग्दा गम्छामा राखेको दही लैजाने चलन भएको बुढापाकाहरू बताउँछन् ।
दूधलाई धेरै समय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति बाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे , यसरी दिदी बहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाइ अर्थात् साला, जेठान र भिनाजु, ज्वाँई बिचमा कौडा खेल्ने चलन पनि छ ।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            