रायणगढ–मुग्लिन सडक फेरि खुला, यातायात सामान्य गतिमा

लगातारको अवरोधपछि आज बिहानदेखि नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजेदेखि सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवागमन सहज रूपमा सुरु भएको हो।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण पहिरोको उच्च जोखिम देखिएपछि आइतबार राति ९ बजेदेखि सो सडक खण्डमा सवारी सञ्चालन रोकिएको थियो। सडक अवरुद्ध भएपछि यात्रुहरूलाई सुरक्षित स्थानमा राख्न होल्डिङ सेन्टरहरूमा व्यवस्थापन गरिएको थियो।

सडक पुनः सञ्चालनमा आएपछि होल्डिङ सेन्टरमा रोकिएका छोटो तथा लामो दुरीका सवारी साधन क्रमशः आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्। प्रहरीका अनुसार अहिले सडकमा सवारी आवागमन सुचारु भए पनि वर्षाको कारण भूस्खलनको सम्भावना अझै कायमै रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।