शनिबार र आइतबार परेको अविरल वर्षाले देशभरका प्रमुख राजमार्गहरूमा यातायात पूर्ण रूपमा ठप्प बनेको छ। विभिन्न स्थानमा पहिरो खस्दा र खोलाले पुल तथा डाइभर्सन बगाउँदा सडक सम्पर्क अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार, कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धिचरण लोकपथ, मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग पूर्णरूपमा अवरूद्ध छन्। संखुवासभाको भोटखोला गाउँपालिका–४ बरूणखोलामा कोशी राजमार्ग बन्द छ भने ओखलढुंगाको मानेभञ्ज्याङ–६ र ७ बीचको भँडारे खोलामा सिद्धिचरण राजमार्ग अवरुद्ध छ। उदयपुरको कटारीमा पनि सो राजमार्ग असोज १८ गतेदेखि बन्द छ।
बागमती प्रदेशमा समेत स्थिति गम्भीर छ। रसुवाको गोसाइकुण्ड गाउँपालिकामा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा छैन। पासाङल्हामु सडकखण्डका तीन ठाउँमा पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित ‘४ किलो’ भन्ने ठाउँमा पहिरोले तातोपानीतर्फको सडक बन्द गरेको छ।
सिन्धुलीमा विपी राजमार्गको डाइभर्सन रोशी खोलाले बगाएको छ भने नेपालथोक नजिकै पनि सडक प्रयोग गर्न नसकिने अवस्थामा छ। कान्ती लोकपथमा भीमफेदी–८ वगुवा खोला नजिकैदेखि कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्डसम्म आवागमन पूर्णरूपमा बन्द छ।
यसैबीच मदन भण्डारी राजमार्ग सिन्धुलीको मरिण–२ सिन्दुरेमा केही मात्रामा पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको छ। तर मध्यपहाडी लोकमार्ग इलामको फिक्कलमा अझै अवरुद्ध नै छ।
प्रहरीका अनुसार, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुरका विभिन्न स्थानहरूमा पनि सडकहरूमा पहिरोका कारण अवरोध सृजना भएको छ।
सडक विभाग र स्थानीय प्रशासनले पहिरो पन्छाउने र सडक सुचारु गर्ने प्रयास जारी राखेका छन्। तर निरन्तर वर्षाका कारण काममा कठिनाइ भइरहेको र यात्रुलाई अत्यावश्यक नपरी सडक यात्रा नगर्न अनुरोध गरिएको छ।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            