एसवाई प्यानलको आईपीओमा आज अन्तिम अवसर, स्थानीयका लागि मात्र खुला

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार

एसवाई प्यानल नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन भएको छ। कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यस मध्ये २ प्रतिशत अर्थात् २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरका २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यी शेयरहरू प्रतिकित्ता १०० रुपैयाँको दरमा निष्काशन गरिएको हो।

आईपीओमा आवेदन दिन पाउने स्थानीय बासिन्दा चितवन जिल्ला अन्तर्गत रत्ननगर नगरपालिकाका सबै वडाका हुन्। इच्छुक स्थानीयहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले स्थानीय लगानीकर्तालाई प्राथमिकता दिँदै उद्योग क्षेत्रमा स्वामित्व र सहभागिता बढाउने उद्देश्यले आईपीओ निष्काशन गरेको जनाएको छ। आज (असोज २१ गते) आवेदन अवधि समाप्त हुने भएकाले स्थानीयहरूलाई समयमै आवेदन दिन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ।

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार