देशभर सडक अवरुद्ध, पहिरा र बाढीले यातायात ठप्प

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार

देशका विभिन्न भागमा निरन्तर भइरहेको बाढी र पहिराका कारण प्रमुख राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। पूर्वदेखि पश्चिमसम्मका यातायात मार्गमा आवागमन ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित मम्तिखोला, बुल्ढुंगा र दलाबेसी क्षेत्रमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै, सिन्धुलीको नेपालथोक खण्डमा पनि पहिराले यातायात रोकिएको छ।

कोशी राजमार्गमा संखुवासभाको मकालु गाउँपालिका–३ र भोटखोला गाउँपालिका–४ मा पहिरा खसेपछि सवारीसाधन आवागमन ठप्प भएको छ।

उता पासाङ ल्हामु राजमार्गमा रसुवागढी क्षेत्रका गोसाइकुण्ड गाउँपालिका–२ अन्तर्गत घत्तेखोला, बालुवाखानी र तातोपानी आसपासका क्षेत्रमा पहिराले सडक अवरुद्ध पारेको छ।

सोही गाउँपालिकामा अवस्थित नेपाल–चीन सीमास्थित मितेरी पुल यस वर्षको असार महिनामा बाढीले क्षतिग्रस्त बनाएको थियो, जसका कारण त्यहाँको यातायात अझै सहज हुन सकेको छैन।

विभिन्न राजमार्गमा यातायात अवरुद्धसँगै प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि ठप्प बनेको छ। स्थानीय प्रशासन र नेपाल विद्युत् प्राधिकरणले क्षतिग्रस्त पूर्वाधार मर्मत तथा बत्ती पुनःसञ्चालनका लागि प्रयास जारी राखेका छन्।

सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय निकायले पहिरा प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य निरन्तर गरिरहेको जनाइएको छ। मौसममा स्थायित्व नआएसम्म सडक सञ्चालनमा समय लाग्ने अनुमान गरिएको छ।

  • Clock icon
    २०८२ आश्विन २१, मंगलवार