अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनमा उल्लेखनीय गिरावट आएको छ। द न्यू योर्क टाइम्सले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार सन् २०२५ को अगस्ट महिनामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमन दर १९.१ प्रतिशतले घटेको छ, जुन कोभिड–१९ महामारीपछि देखिएको सबैभन्दा ठूलो कमी मानिएको छ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासन र अमेरिकी सरकारी आगमन रेकर्डका आधारमा गरिएको विश्लेषणले यो गिरावटले विशेष गरी विदेशी विद्यार्थीमा निर्भर ठूला विश्वविद्यालयहरूलाई गम्भीर असर पार्ने देखाएको छ।
विशेषज्ञहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका कठोर आप्रवासन नीतिहरू — जस्तै भिसा अन्तरवार्तामा ढिलाइ, १९ देशमा नयाँ यात्रा प्रतिबन्ध, र विद्यार्थी भिसा आवेदकहरूमा कडाइका कारण — अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकातर्फ आकर्षित हुनबाट हतोत्साहित भएका हुन्। धेरै विद्यार्थीको भिसा रद्द भएको छ भने कतिपयले स्वेच्छाले अन्य देश रोजेका छन्।
यो गिरावट विशेष गरी एशियाली विद्यार्थीहरूमा केन्द्रित देखिएको छ। अमेरिकाका कुल अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ७० प्रतिशतभन्दा बढी एशियाबाट आउने भए पनि यस वर्ष उक्त समूहको संख्या २४ प्रतिशतले घटेको छ। भारतबाट मात्र विद्यार्थी आगमन ४४.५ प्रतिशतले घटेको छ, जसले ठूलो असर पारेको छ।
त्यसैगरी मुस्लिम बहुल देशहरूबाट विद्यार्थी भिसा लिने संख्यामा पनि तीव्र गिरावट आएको छ — इरानबाट आउने विद्यार्थी ८६ प्रतिशतले घटेका छन्। यस्तै, द्विपक्षीय सम्बन्धमा आएको तनाव र भिसा परीक्षणको कडाइका कारण चीनबाट विद्यार्थी आगमनमा पनि उल्लेख्य कमी भएको छ।
अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार, सन् २०२५ को अगस्ट महिनामा अमेरिकाले जम्मा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा मात्र जारी गरेको छ।
विद्यार्थी संख्यामा आएको यो अचानक गिरावटका कारण धेरै विश्वविद्यालयहरूमा आर्थिक दबाब देखिन थालेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्थानीय विद्यार्थीभन्दा धेरै उच्च शुल्क तिर्ने भएकाले, विदेशी विद्यार्थी घट्दा विश्वविद्यालयको राजस्वमा प्रत्यक्ष असर परेको बताइएको छ।
शैक्षिक वर्ष २०२५/२६ को नामांकन विवरण अझै पूर्ण नभए पनि, अगस्ट महिनाको डाटालाई विश्वविद्यालयहरूले प्रारम्भिक संकटको संकेतका रूपमा लिएका छन्।
