हालैको असोज १८, १९ र २० गते तथा त्यसअघि भएका बाढीपहिरोका कारण देशभरका सडक संरचनामा व्यापक क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रारम्भिक मूल्याङ्कन अनुसार पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपद्बाट मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलहरूमा ठूलो क्षति पुगेको छ। ती संरचनाको पुनर्निर्माण र मर्मतका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने देखिएको छ।
गत वर्षका विपद्बाट क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि अझै १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोले अवरुद्ध गरेका सडक पुनः सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको बताए। उनका अनुसार उपकरण र जनशक्ति परिचालन गरी सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ र मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मुख्य राजमार्गहरूमा पुगेको छ। विशेष गरी मेची राजमार्गको पुनर्निर्माणका लागि मात्र डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ लगायतका प्रमुख राजमार्गहरूको पुनर्निर्माणमा झण्डै ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने देखिएको छ।
यसबाहेक, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड रुपैयाँ आवश्यक पर्नेछ। त्यस्तै, अवरुद्ध सडक सञ्चालनका लागि आवश्यक नयाँ बेलिब्रिज निर्माणमा ८० करोड रुपैयाँ खर्च हुने अनुमान छ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार वैकल्पिक सडक पुनर्निर्माणका लागि पनि करिब १ अर्ब ५९ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
मन्त्री घिसिङले विपद्बाट प्रभावित सबै सडक र पुलहरू पुनः सञ्चालनमा ल्याउनका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै भने, “सडक अवरुद्ध रहँदा जनजीवन र आपूर्तिमा समस्या पर्छ, त्यसैले पुनर्निर्माण कार्यलाई अत्यावश्यक र तत्काल प्राथमिकताका रूपमा अघि बढाइएका छौं।”
