‘जेनजी आन्दोलन’पछिको असर: नेपालमा पर्यटक आगमनमा १८ प्रतिशत गिरावट

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात नेपालमा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा घटेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा मात्र ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका छन्।

यो संख्या अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशतले कम हो। सन् २०२४ को सेप्टेम्बरमा नेपालमा ९६ हजार ३०२ विदेशी पर्यटक आएका थिए। पर्यटन बोर्डका अनुसार यो गिरावटले नेपालका पर्यटन व्यवसाय र आतिथ्य क्षेत्रलाई गम्भीर असर पार्ने संकेत गरेको छ।

सन् २०२५ को जुलाइमा ७० हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए। यद्यपि, सेप्टेम्बरलाई सामान्यतया पर्यटकीय सिजनको सुरुआती महिना मानिँदै आएको भए पनि यस वर्ष आगमन संख्या खुम्चिएको छ।

बोर्डको तथ्याङ्कअनुसार सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६, चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक नेपाल आएका छन्।

पर्यटन विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक स्थिरता र सुरक्षाबारे अन्तर्राष्ट्रिय धारणा कमजोर भएकोले विदेशी आगमन घटेको देखिएको हो। साथै, विश्व पर्यटन बजारमा बढ्दो प्रतिस्पर्धा, भिसा प्रक्रियामा ढिलाइ र आन्तरिक अव्यवस्थाले पनि पर्यटन वृद्धिमा बाधा पुर्‍याएको बताइन्छ।

पर्यटन बोर्डका अधिकारीहरूका अनुसार आगामी महिना र चाडपर्वको समयलाई लक्षित गर्दै नेपाल भ्रमण पुनः आकर्षक बनाउनका लागि प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।