ओलीको आरोप: ‘अन्तरिम सरकार चुनावभन्दा लोकतन्त्र मेटाउने खेलमा’

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार

निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारमाथि कडा प्रहार गर्दै ‘चुनाव नचाहने र लोकतन्त्र मेटाउने’ आरोप लगाएका छन्। बिहीबार भक्तपुरमा आयोजित विशेष सम्बोधन कार्यक्रममा ओलीले जननिर्वाचित सरकार अपदस्थ गरेर बनेका अन्तरिम सरकारले लोकतन्त्र पुनःस्थापना गर्ने उद्देश्य नरहेको दाबी गरे।

ओलीले भने, “जननिर्वाचित सरकारलाई अपदस्थ गरेर, लोकतन्त्र र संविधानलाई मिचेर बनेका सरकारहरूले लोकतन्त्र फर्काउँदैनन्। म्यानमार र बंगलादेशका घटनाले यही कुरा प्रमाणित गर्छ।” उनले म्यानमारमा सैन्य शासन लागू भएको पाँच वर्ष बितिसक्दा पनि लोकतन्त्र फर्कन नसकेको र बंगलादेशमा पनि अन्तरिम सरकार बनेर १४ महिना बित्दा समेत चुनाव नहुनु यसको उदाहरण भएको बताए।

उनका अनुसार नेपालमा पनि अहिलेको अन्तरिम सरकारले लोकतन्त्र पुनर्वहाली होइन, बरु दलहरूको अस्तित्व नै मेटाउने प्रयास गरिरहेको छ। उनले फागुनमा घोषणा भएको चुनाव पनि सरकारको चाहनामा नभई राष्ट्रपतिले निर्देशन दिएर भएको बताए।

“यो चुनाव सरकारले घोषणा गरेको होइन, राष्ट्रपतिले कार्यादेश दिएका हुन्,” ओलीले भने, “यसैले यो सरकार लोकतन्त्र पुनर्वहालीका लागि होइन, चुनाव टार्न र विदेशी एजेन्डा पूरा गर्न बनाइएको हो।”

ओलीले संसद पुनःस्थापनाको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिँदै भने, “असंवैधानिक ढंगले विघटन गरिएको संसद पुनःस्थापना गर्नुको विकल्प छैन। कांग्रेस, एमाले र अरु दलहरूले पनि यही बाटो रोज्नुपर्ने समय आएको छ।”

पूर्वप्रधानन्यायाधीश तथा वर्तमान प्रधानमन्त्री सुशीला कार्कीप्रति कटाक्ष गर्दै ओलीले संविधानको विपरीत गएर सरकार गठन गरिएको आरोप लगाए। उनले भने, “सुशीला कार्कीसँग डराएर म भाग्दिनँ। सरकारले मलाई उपत्यका छाड्न नपाउने गरी दिएको आदेश असंवैधानिक छ।”

त्यसैगरी, तत्कालीन घटनाको स्मरण गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि सचेत रहन सुझाव दिए। “गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, राजनीति ख्यालठट्टा होइन,” ओलीले चेतावनी स्वरमा भने।

देशको सार्वभौमसत्ता रक्षाका लागि आफू र आफ्नो दल कुनै पनि बलिदान दिन तयार रहेको उल्लेख गर्दै ओलीले चेतावनी दिए, “हामीलाई नजिस्क्याऊ, हामी राष्ट्रको रक्षा गर्न सधैं तयार छौं।”

भलै उनको भाषण सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण भइरहँदा धेरैले आलोचना र आक्रोश व्यक्त गरेका थिए। केही समर्थकले मौन समर्थन जनाए पनि आलोचकहरू उनले लोकतन्त्रको नाममा भ्रम फैलाएको भन्दै टिप्पणी गरिरहेका थिए।

  • Clock icon
    २०८२ आश्विन २३, बिहीबार