मोरङ उद्योग संघद्वारा निर्यात अनुदान रोकको विरोध

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार

उद्योग विभागले असोज २३ मा जारी गरेको ‘आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले बुझाउने आवेदन यस वर्ष प्रक्रिया नगर्ने’ सूचना प्रति मोरङ उद्योग व्यापार संघले आपत्ति जनाएको छ।

संघका अनुसार, नेपालबाट निर्यात हुने थप वस्तुहरूमा निर्यात अनुदान दिनु पर्ने आवश्यकता र माग रहँदै आएको अवस्थामा विभागको यस्तो निर्णयले गम्भीर ध्यानाकर्षण गरेको छ। संघले भनेका छन् कि “भुपरिवेष्ठित मुलुकबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती सामना गर्दै आएका नेपाली निर्यातकर्ताले आर्थिक मन्दी र राजनीतिक संक्रमणका बीच पनि निरन्तर निर्यात गर्दै राष्ट्रका लागि महत्वपूर्ण वैदेशिक मुद्रा आर्जन गर्दै आएका छन्। तर गत आवको निर्यात अनुदान प्रक्रिया रोक्ने निर्णयले निर्यातकर्ता र निर्यात क्षेत्रको मनोबलमा दीर्घकालीन नकारात्मक असर पार्ने सम्भावना छ।”

यस्तै, संघले आर्थिक वर्ष २०८१/८२ को स्वः घोषणा सहित अनुसूची–३ बमोजिमको ढाँचामा आवेदन दिने म्याद थप गर्न सरकारसँग माग गरेको छ।

मोरङ उद्योग व्यापार संघले मुलुकको वित्तीय सीमा, संक्रमणकालीन अवस्था र असहज परिस्थितिलाई बुझ्दै, बक्यौता देखिने निर्यात अनुदान रकम बराबरको बण्ड जारी गरी निर्यातकर्ताको संरक्षण गर्न र निर्यात प्रवद्र्धन तथा औद्योगिक विकासमा सरकारलाई प्रतिबद्ध हुन आग्रह गरेको छ।

संघले यस कदममार्फत निर्यातकर्ताको विश्वास कायम राख्दै राष्ट्रिय अर्थतन्त्रको स्थायित्व सुनिश्चित गर्न सरकारसँग सहकार्यको माग गरेको छ।

  • Clock icon
    २०८२ आश्विन २४, शुक्रबार