जनता केबल इन्डस्ट्रीज प्रालिले एक वर्षको अवधिमा आफ्नो व्यापार ६२.२१ प्रतिशतले वृद्धि गरेको छ। नेपाली विद्युत् तार तथा केबल बजारमा सक्रिय यो कम्पनीले सन् २०२५ मा कुल १ अर्ब ४९ करोड ४० लाख रुपैयाँको कारोबार गर्न सफल भएको हो।
अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीको व्यापार ९२ करोड १० लाख रुपैयाँमा सीमित थियो। यसअघि सन् २०२३ मा ७२ करोड ५० लाख, सन् २०२२ मा ५४ करोड १० लाख र सन् २०२१ मा ५१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
व्यापारमा तीव्र उछाल आउँदा पनि नाफा भने स्थिर देखिएको कम्पनीले जनाएको छ। सन् २०२१ देखि २०२३ सम्म करिब १० प्रतिशत नाफा कमाउँदै आएको कम्पनीले सन् २०२५ मा व्यापार बढेपनि नाफा घटेको स्पष्ट गरेको छ। कच्चा पदार्थको मूल्यवृद्धि नाफा घट्नुको मुख्य कारण रहेको कम्पनीको भनाइ छ।
विराटनगरस्थित यो उद्योगले सन् २००५ देखि एलुमिनियम र कपर वायर तथा केबल उत्पादन गर्दै आएको छ। वार्षिक १,६७५ मेट्रिक टन कपरजन्य र २,४१० मेट्रिक टन एलुमिनियमजन्य सामग्री उत्पादन क्षमतासहित कम्पनीले आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रमा ‘जनता केबल’ ब्रान्डमार्फत उत्पादन बिक्री गर्दै आएको छ।
हाल कम्पनीको वितरण सञ्जाल देशभर १०७ वितरकसम्म फैलिएको छ। गत आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा कच्चा पदार्थको लागत कुल व्यापारको करिब ६० प्रतिशत रहेको कम्पनीले जनाएको छ, जुन सन् २०२४ मा ७३ प्रतिशत थियो। मल्टीस्ट्र्यान्ड फ्लेक्जिबल वायरले मात्रै कुल कारोबारको ४३ प्रतिशत हिस्सा ओगटेको छ।
स्वामित्व संरचनामा अनिता जोढनीको ४९ प्रतिशत र पवनकुमार अग्रवालको २१ प्रतिशत हिस्सेदारी रहेको छ। कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमा २३ करोड ९१ लाख दीर्घकालीन र ८२ करोड ५० लाख अल्पकालीन कर्जा रहेको छ।
बजार विस्तार र उत्पादन क्षमतामा निरन्तर लगानी गर्दै आएको जनता केबलले आगामी वर्षहरूमा पनि प्रतिस्पर्धी मूल्य र उच्च गुणस्तरका उत्पादनमार्फत व्यापार वृद्धिलाई अझ तीव्र बनाउने प्रतिवद्धता जनाएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            