२ उद्योग–फर्ममाथि विभागको कारबाही, लाखसम्म जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार राजधानीमा गरेको अनुगमनका क्रममा एक दर्जन उद्योग र फर्ममाथि कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम विभिन्न कारोबारमा अनियमितता भेटिएपछि कारबाही तथा आवश्यक निर्देशन दिएको हो।

अनुगमनका क्रममा के.के. मेटल स्टोर, काठमाडौं महानगरपालिका–१३ लाई १ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। त्यसैगरी श्रद्धा भाँडा पसल, प्रकाश वानिया भाँडा पसल र बानिया बन्धु भाँडा पसललाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी, अग्नि हस्तकला उद्योग, जल्पा सुपर मार्केट र डब्लु एस ड्राइ फुड्सलाई जनही २०–२० हजार रुपैयाँ, र लगन ताम्राका शपिङ सेन्टर, वानिया किचन क्राफ्ट, तथा माँ भवना खाद्य किराना स्टोरलाई जनही १०–१० हजार रुपैयाँ जरिवाना गरिएको हो।

यता, विकास जनरल इम्पेक्स र जय भोले नाथ स्टोरलाई पनि जनही ५–५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागका अनुसार बजारमा उपभोक्ताको अधिकार हनन, गलत बिलिङ, म्याद नाघेका सामान बिक्री तथा मूल्य सूची नटाँस्ने जस्ता कारणले कारबाही गरिएको हो। विभागले आगामी दिनमा पनि यस्ता अनुगमन र कानूनी कारबाही निरन्तर गर्ने जनाएको छ।