अनाधिकृत विज्ञापन टाँसेको आरोपमा एग्रो थाई फुडलाई जरिवाना

ललितपुर महानगरपालिकाले सार्वजनिक स्थान फोहोर पार्ने गरी विज्ञापन टाँसेको आरोपमा एग्रो थाई फुड प्रा.लि. माथि कारबाही गरेको छ। महानगरले आइतबार कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।

महानगरका अनुसार उक्त कम्पनीले उत्पादन गर्ने इनर्जी ड्रिङ्कको पर्चा सडक किनारका पोलहरूमा टाँसेको अवस्थामा भेटिएको थियो। यसलाई सार्वजनिक स्वच्छता र विज्ञापनसम्बन्धी नियम उल्लङ्घन मान्दै महानगरले तत्काल जरिवाना गरेको जनाएको छ।

महानगरको रसिदमा उल्लंघनको कारणलाई ‘अनाधिकृत विज्ञापन’ भनेर उल्लेख गरिएको छ। ललितपुर महानगरले यस्ता क्रियाकलापले सहरको सौन्दर्य बिगार्ने र सरसफाइमा असर पुर्‍याउने भन्दै आगामी दिनमा पनि निरन्तर अनुगमन गर्ने चेतावनी दिएको छ।