काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ।
यस क्रममा आज असोज २८, मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो अहिले बिहान ५.४५ बजेको मापन हो । बढ्ने सम्भावना छैन ।
९ दिनअघि असोज २० गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस थियो भने २१ गते घटेर १७.८ डिग्री सेल्सियसमा झरेको थियो। असोज २२ गते एकदिन स्थिर रहेको उपत्यकाको न्यूनतम तापक्रम त्यसयता लगातार घट्दै असोज २३ मा १७.४, असोज २४ मा १५.६, असोज २५ मा १४.५, असोज २६ मा १३.३, असोज २७ मा १३ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसबाट पनि घटेर आज असोज २८ गते १२.५ डिग्री सेल्सियसमा ओर्लिएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । जसका कारण आज देशका अधिकांश भू–भागका मौसम सफा रहनेछ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            