तिहारमा भारतीय सयपत्री प्रतिबन्ध : आजदेखि अनुगमन

तिहारमा भारतीय सयपत्री फूल भित्रनसक्ने आशंकामा काठमाडौं महानगरपालिकाले आज मंगलवारबाट अनुगमन सुरु गर्ने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल र कामपा प्रहरी टोलीले आजबाट अनुगमन गर्न लागेको हो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले आशंका लागेका सबै कोल्डस्टोरमा अनुगमन गर्ने जानकारी दिनुभयो । एसोसियसन र कामपा प्रहरी टोलीले संयुक्त रूपमा अनुगमन गर्न लागेको हो ।

प्रहरी प्रमुख पाण्डेले नेपाली किसानलाई प्रोत्साहन गर्न तिहारमा नेपाली फूलमात्र बिक्री गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

एसोसिएसन र कामपा प्रहरीले राजधानीका ३२ स्थानमा फूलमाला बिक्री सुरु गर्न लागेको हो ।

आयातीत र प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन महानगरपालिकाले विगत तीन वर्षदेखि तिहारको समयमा स्वदेशी फूलको प्रवर्धनका लागि बिक्री स्थल व्यवस्थापन गर्न लागेको छ ।

आयातीत र प्लास्टिकजन्य फूलमालालाई पूर्ण रूपमा निषेध गर्दै नेपाली किसानले उत्पादन गरेका फूलहरूलाई प्रोत्साहन र प्राथमिकता दिन तीन वर्षदेखि स्वदेशी फूलमात्र बिक्री गर्न थालेको हो ।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि किसानलाई बजारमा सहज पहुँच प्रदान गर्न, ढुवानीमा सहयोग गर्न र अवैध माला बिक्री गर्नेहरूमाथि कारबाही गर्न कामपाले छुट्टै योजना तयार गरेको छ । नेपाल चेम्बर अफ कमर्स र फ्लोरिकल्चर एसोसिएसन नेपालसँगको सहकार्यमा कोल्ड स्टोर र बजार क्षेत्रको अनुगमन पनि गरिनेछ ।

कामपाका मेयर बालेन्द्र साहले नेपाल सयपत्री र मखमली फूलमा लगभग आत्मनिर्भर भइसकेको अवस्थामा यसपालिको तिहारमा स्वदेशी फूलको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

‘आफ्नो संस्कृति, नेपालमै फुलेका फूल हाम्रो पहिचान हो, यही हाम्रो सम्मान हो’ –उहाँको भनाइ थियो ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं कृषि, वन र जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले महानगरको यो निर्णयले नेपाली किसान र उपभोक्ता दुवैलाई खुसी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आयातीत र प्लास्टिकजन्य फूलको बहिष्कार गर्दै स्वदेशी फूललाई प्राथमिकता दिनु सकारात्मक काम हो । यसले बिचौलियाको प्रभाव घटाउँछ र किसानको आम्दानीमा प्रत्यक्ष फाइदा पुग्ने उहाँको भनाइ थियो ।

आयातीत माला प्रायः एकनासे साइजका, एकरूप धागोमा बनेका र विषादी प्रयोग गरिएका हुन्छन्, जबकि स्वदेशी माला साना–ठूला आकारका र प्राकृतिक रूपमा ओइलाउँदै गएका पुष्प व्यवसायीले बताएका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले काठमाडौं महानगरले विगत तीन वर्षदेखि आयातीत र प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध लगाउने अभियान निरन्तर चलाउँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यसलाई सफल बनाउन हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’ उहाँले पुष्प व्यवसायीहरूलाई कुनै पनि कोल्ड स्टोरमा फूलमाला भण्डारण नगर्न र स्वदेशी फूलको प्रवर्धन गर्न आह्वान गर्नुभयो ।

एसोसिएसनका महासचिव हीरामणि शर्माले भारतलगायत अन्य देशबाट सयपत्री फूल वैधानिक रूपमा नेपाल भित्रिन नसकेको स्पष्ट गर्नुभयो ।

‘नेपाल सरकारले तोकेको मापदण्डअनुसार मात्र फूल आयात गर्न पाइन्छ । सयपत्रीबाट १६ किसिमका रोग फैलन नदिने मापदण्ड छ, तर अहिले कसैले त्यो मापदण्ड पूरा गरेर फूल ल्याउन सकेका छैनन् । त्यसैले अवैध रूपमा आउने फूल रोक्न महानगर र हामी सक्रिय छौँ’ –उहाँले भन्नुभयो ।

तथ्यांकअनुसार तिहारको पाँच दिनमा करिब ४० लाख माला खपत हुन्छ, जसमध्ये ३५ लाख माला हामी आन्तरिक उत्पादनबाट आपूर्ति गर्न गरिन्छ ।

बाँकी ५ लाख माला गाउँघरमा उत्पादन हुने ठाउँबाट आपूर्ति हुने अनुमान छ ।

मूल्यको हिसाबले सयपत्री मालाको मूल्य करिब १३० रुपियाँ र मखमली मालाको मूल्य ६०-६५ रुपियाँसम्म पर्ने अनुमान छ ।

सोभन्दा बढी मूल्यमा बिक्री भएमा महानगरले अनुगमन गर्नेछ । स्वदेशको सयपत्री फूलले राजधानीको माग धान्न सक्ने भएपछि तिहारमा भारतीय सयपत्री प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

कामपा प्रहरीले तिहारका लागि करिब १५ दिनअघि नै फूल भित्र्याएर कोल्ड स्टोरमा राख्न सक्ने आशंका गर्दै निगरानी बढाएको छ ।