करिब ३३ वर्षअघि नेपालको बैंकिङ क्षेत्रमै पहिलो विदेशी लगानीकर्ता बनेको पाकिस्तानी बैंक हबिब बैंक लिमिटेड अब नेपालबाट पूर्ण रूपमा बाहिरिन लागेको छ। नेपाल राष्ट्र बैंकले हबिबको नाममा रहेको हिमालयन बैंकको सेयर बिक्री गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ।
केन्द्रीय बैंकका गभर्नरको अध्यक्षतामा बसेको व्यवस्थापन समितिले उक्त निर्णय गरेको र स्वीकृति पत्र आइतबारमात्रै बैंकमा प्राप्त भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताए। उनका अनुसार अब बाँकी प्रक्रिया नेपाल धितोपत्र बोर्ड, नेप्से र कम्पनी रजिस्ट्रारको स्वीकृतिपछि सम्पन्न हुनेछ।
राणाका अनुसार सम्पूर्ण स्वामित्व हस्तान्तरणको प्रक्रिया तिहारपछि मात्रै पूरा हुने सम्भावना छ। त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक शेयरधनी बन्नेछ।
३३ वर्षअघि सुरु भएको लगानी यात्रा समाप्त
हबिब बैंकले नेपालमा प्रवेश गरेको तीन दशकअघि निजी क्षेत्रबाट बैंक खोल्ने अभ्यास सुरु हुँदा भएको थियो। संस्थापक गभर्नर हिमालय शम्शेर जबरा र उनका ज्वाइँ पृथ्वीबहादुर पाँडेको नेतृत्वमा खुलेको हिमालयन बैंकमा हबिबले २० प्रतिशत लगानी गरेको थियो।
तर पछिल्ला वर्षमा सिभिल बैंकसँगको मर्जरपछि हबिबको स्वामित्व १३ प्रतिशतभन्दा तल झरेको थियो। हबिबले सिभिलसँगको मर्जरअघि नै आफ्नो सेयर बेच्ने तयारी गरेको थियो, तर लामो समयसम्म सहमति जुट्न सकेको थिएन।
३ अर्ब ३३ करोडको सेयर कारोबार
हबिबले आफ्नो नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर नेशनल लाइफलाई बेच्न लागेको हो। गत साउन अन्तिम साता भएको सम्झौताअनुसार नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा सेयर किन्न सहमति जनाएको छ — जसअनुसार कुल कारोबार रकम ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी हुनेछ।
यसअघि हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरूलाई सेयर खरिद प्रस्ताव गर्न आह्वान गरेको थियो। हबिबले सेयरको न्यूनतम मूल्य ११२ रुपैयाँ ८० पैसा तोकेकोमा नेशनल लाइफले सोभन्दा ६ रुपैयाँ ८ पैसा बढीमा प्रस्ताव गरेर खरिद अधिकार हासिल गरेको हो।
नियामक स्वीकृति र स्वामित्व हस्तान्तरण
अब नेशनल लाइफले आवश्यक नियामक स्वीकृतिहरू लिएपछि कम्पनी रजिस्ट्रारबाट स्वामित्व हस्तान्तरण प्रक्रिया पूरा गर्नेछ।
वर्तमानमा नेशनल लाइफको हिमालयन बैंकमा १.२५ प्रतिशत स्वामित्व मात्र छ, तर हबिबको हिस्सेदारी किनिसकेपछि यसको स्वामित्व करिब १४ प्रतिशतमा पुग्नेछ, जसले यसलाई बैंकको सबैभन्दा ठूलो लगानीकर्ता बनाउनेछ।
त्यसपछि हिमालयन बैंकको सञ्चालक मण्डलमा अहिले हबिबले पठाउँदै आएको प्रतिनिधि हट्नेछ र त्यस स्थानमा नेशनल लाइफको प्रतिनिधि आउनेछ।
हबिबको नेपाल निष्कासन लामो प्रयासपछि सफल
हबिब बैंकले नेपालबाट बाहिरिन धेरै वर्षदेखि प्रयास गरिरहेको थियो। करीब चार वर्षअघि बेलायती विकास संस्था कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) ले यसको सेयर किन्न चाहेको थियो, तर अन्य सञ्चालकहरूको विरोधका कारण त्यो प्रक्रिया रोकिएको थियो।
पछिल्लो पटक, २०८० मंसिरमा, नवस्थापित हिमालयन रिइन्स्योरेन्स ले हबिबको सेयर किन्न चाहेको थियो, तर तत्कालीन गभर्नर महाप्रसाद अधिकारी ले त्यसमा स्वीकृति नदिई रोकिदिएका थिए। त्यो बेला प्रतिकित्ता १३० रुपैयाँको दरमा सम्झौता हुने तय भएको थियो।
तर उक्त प्रक्रिया रोकिएपछि बजारमा अनिश्चितता बढ्दै गएकाले यसपटक हबिबले अघिल्लो प्रस्तावभन्दा सस्तो मूल्यमा आफ्नो स्वामित्व बेच्न सहमति जनाएको हो।
