ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटमा दुवै पक्षबीच ऊर्जा, पूर्वाधार, रोजगारी र प्रविधि सहकार्यका विषयमा विस्तृत छलफल भएको छ।
राजदूत पार्कले मन्त्री घिसिङलाई पदभार ग्रहण गरेको अवसरमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपाल र कोरियाबीचको दीर्घकालीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन कोरियाली सरकार इच्छुक रहेको बताए।
ठूला जलाशय र हरित हाइड्रोजनमा साझेदारीको प्रस्ताव
भेटका क्रममा मन्त्री घिसिङले नेपालमा ऊर्जा सन्तुलन र विद्युत निर्यातका लागि ५०० मेगावाटभन्दा ठूला जलाशयुक्त जलविद्युत आयोजना आवश्यक रहेको भन्दै यस्तो परियोजनामा सरकार–सरकार (G2G) तहमा वा कोरियाली निजी कम्पनीको लगानीमा साझेदारी गर्न आग्रह गरे।
उनले कोरियामा सफल रहेको र नेपालमा प्रचुर सम्भावना रहेको हरित हाइड्रोजन उत्पादन परियोजनालाई नेपालमा नमुना परियोजनाका रूपमा विकास गर्ने प्रस्ताव पनि अघि सारे। यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा प्रयोग गर्न सकिने हाइड्रोजन इन्धनको विकास गर्न सकिने उनले बताए।
श्रमिक कोटा र सीप विकासमा सहकार्य
मन्त्री घिसिङले रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि गर्न अनुरोध गरे। साथै, कोरिया जानुअघि सीप विकास तालिम र फर्किएपछि त्यही सीप स्वदेशमा प्रयोग गरी उद्यमशीलता र रोजगारी सिर्जनामा कोरियाको सहयोग माग गरे।
ऊर्जा प्रसारण र रेल पूर्वाधारमा कोरियाको भूमिका
मन्त्री घिसिङले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइन जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियाली एक्जिम बैंकमार्फत प्राप्त हुने सहयोगलाई छिटो टुंग्याउन आग्रह गरे। त्यस्तै, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतसम्भारको क्षमता विकासका क्षेत्रमा पनि सहकार्य विस्तार गर्न अनुरोध गरे।
माथिल्लो त्रिशूली–१ आयोजनाको प्रगति
राजदूत पार्कले भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी दिए। उनका अनुसार आयोजनाको निर्माण प्रगति हाल झण्डै ७० प्रतिशत पुगेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेकथ्रु) तयारी भइरहेको छ।
राजदूतले उक्त समारोहमा मन्त्री घिसिङको उपस्थितिको आग्रह गर्दै, हालसम्म नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले दिएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे।
ऊर्जा सहकार्यमा सेमिनारको तयारी
राजदूत पार्कले कोरियाली कम्पनीहरूलाई नेपालको ऊर्जा क्षेत्रमा आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग सहकार्यमा सेमिनार आयोजना गर्न लागिएको जानकारी पनि दिए।
उनका अनुसार, प्रसारण लाइन निर्माणमा सहयोग उपलब्ध गराउने विषयमा कोरियाली पक्षले अहिले नेपालको अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ।
