तिहारमा असर्फी होइन, राष्ट्र बैंकले ल्यायो चाँदीको ‘मेडालियन’ योजना

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार

आगामी तिहार पर्व लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष सुनका असर्फी वितरण नगर्ने निर्णय गरेको छ। विगतमा हरेक वर्ष तिहारको अवसरमा सुनका असर्फी र सिक्का वितरण गर्दै आएको बैंकले यो वर्ष चाँदीका मेडालियन मात्र बिक्रीमा ल्याउने तयारी गरेको हो।

राष्ट्र बैंकको टक्सार महाशाखाले जारी गरेको सूचनाअनुसार, असोज २६ गतेदेखि लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित चाँदीका मेडालियन बिक्रीमा आउने छन्। यी प्रत्येक मेडालियनको तौल १० ग्राम र मूल्य प्रति थान ३ हजार रुपैयाँ तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार एक व्यक्तिलाई एक थान मात्र मेडालियन खरिद गर्न पाइनेछ। खरिदका क्रममा ग्राहकले नागरिकताको फोटोकपी वा त्यहाँ उल्लेखित नम्बर भएको वैध परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार यस पटक सुनको असर्फी वितरण बन्द गर्ने निर्णय आयात लागत, सुनको मूल्य वृद्धि र व्यवस्थापन पक्षका कारणले गरिएको हो। यसको सट्टा चाँदीका मेडालियन बिक्रीमार्फत परम्परा निरन्तरता दिइने जनाएको छ।

यससँगै, तिहारमा लक्ष्मीपूजाको अवसरमा असर्फीको सट्टा मेडालियन प्रयोग हुने सम्भावना बढेको छ। बैंकले सर्वसाधारणलाई अग्रिम रूपमा जानकारी दिँदै असोज २६ गतेदेखि सीमित संख्यामा उपलब्ध हुने भएकाले समयमै खरिद गर्न आग्रह गरेको छ।

  • Clock icon
    २०८२ आश्विन २८, मंगलवार