अर्थमन्त्री रामेश्वर प्रसाद खनालले संयुक्त राज्य अमेरिकामा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। यी भेटवार्ता विश्व बैंक–IMFको वार्षिक बैठकको अवसरमा भएको हो।
विश्व बैंकका प्रवन्ध निर्देशक आन्ना बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा जेनजी समूहको प्रदर्शनपश्चात बनेको सरकारले निर्धारित समयमा निर्वाचन गर्ने, सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्ने काममा कटिबद्ध रहेको बताए। उनले व्यवसायिक वातावरण सुधारका लागि संस्थागत र प्रक्रियागत सुधार र कानुनी पूर्वतयारीमा पनि सरकार तिव्र रहेको स्पष्ट पारे।
विश्व बैंक समुहले नेपालमा भइरहेको विकास प्रयासको सहयोग र प्रतिबद्धताको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने तयारी गरेको उल्लेख गर्यो। बेजर्डेले अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक रहेको र आर्थिक तथा विकास व्यवस्थापन सुधारका उपायहरूमा छलफल गरिन्।
त्यसैगरी, IMF का उप–प्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा कोषको आर्थिक सुधार सहयोगको कदर गरे। उनले हाल विस्तारित कर्जा सुविधासँग सम्बन्धित बाँकी सुधार कार्यलाई अघि बढाइने र कोषसँगको सहकार्य थप मजबुत बनाइने बताए। बो लीले छैठौं समीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिंदै आगामी आर्थिक सुधारका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल पनि भेटमा उपस्थित थिए। सोही दिन, अर्थमन्त्री खनालले नेपाल–अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै लगानीयोग्य वातावरण निर्माणमा सरकार दृढ रहेको जानकारी दिए।
खनालले कर कानुनमा देखिएका अस्पष्टता हटाइने, नाफा फिर्ता प्रक्रिया सरल बनाइने, र लगानीकर्ताले लगानी स्वीकृत गर्दा वा व्यवसाय बन्द गर्दा प्रक्रिया सहज बनाइने प्रतिबद्धता जनाए। कार्यक्रममा विभिन्न कम्पनीका प्रतिनिधिहरूले नेपालमा कर कानुन र अन्य नियमनकारी निर्णयले लगानीकर्तालाई असहज बनाएको अनुभव साझा गरे।
अर्थमन्त्री खनालले कर कानुन तर्जुमा गर्दा पर्याप्त छलफल र अनुसन्धानमार्फत नीतिगत–कानुनी सुधार गर्ने बताए। उनले सोही अवसरमा विश्व बैंक समुहका दक्षिण एशिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग भेट गरी नेपालमा सञ्चालित विकास आयोजना र कार्यान्वयनमा देखिएका समस्या सम्बन्धमा छलफल पनि गरेका छन्।
यस भ्रमणले नेपाल–विश्व बैंक र IMF बीचको विकास र आर्थिक सुधार सहकार्यलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
