“तरलता नियन्त्रणमा राष्ट्र बैंकको कदम: फेरि ३५ अर्ब बजारबाट तानिँदै”

वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको दबाब घटाउन नेपाल राष्ट्र बैंकले फेरि थप ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने निर्णय गरेको छ । तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत चार दिनका लागि सो रकम संकलन गर्ने तयारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार, अनलाइन बिडिङ प्रणालीमार्फत दिउँसो ३ बजे बोलकबोल सञ्चालन गरिनेछ र सोही दिन खरिद प्रक्रिया सम्पन्न हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सक्नेछन् । कुल आह्वान रकमभर आवेदन स्वीकृत हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको परिपक्वता (Maturity) कार्तिक २ गते तय गरिएको छ, जसमा सावाँ तथा ब्याज भुक्तानी एकैसाथ हुनेछ । बोलकबोल प्रक्रिया ब्याजदरमा आधारित हुनेछ, र सहभागी संस्थाले बहुब्याजदरमा पनि प्रस्ताव गर्न सक्ने सुविधा पाउनेछन् ।

यो बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले हालैका महिनामा प्रणालीमा अत्यधिक तरलता बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न पटक–पटक निक्षेप संकलनमार्फत नगद तानेको छ ।