“जेनजी घाइतेको उपचार अब बैंकको जिम्मा: सीएसआरबाट खर्च गर्न पाइने”

जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूको उपचार खर्च अब बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकमबाट बेहोर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले हालै संशोधन गरेको सीएसआर मार्गदर्शन, २०८१ अनुसार यस्तो व्यवस्था लागू गरिएको हो ।

नयाँ प्रावधानअनुसार, सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका घाइते नागरिकको औषधि र उपचार खर्च बैंकहरूले सीएसआरअन्तर्गत खर्च गर्न सक्नेछन् । यसले आन्दोलनबाट प्रभावित वर्गको उपचारमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका आश्रित परिवारलाई आयआर्जनमा सक्षम बनाउन बैंकहरूले सीपमूलक तालिम सञ्चालन गर्न सक्नेछन् । यस्ता तालिमका खर्चहरू पनि अब सीएसआरमा गणना हुनेछन्, तर ती तालिम नेपाल सरकार वा स्वीकृत संस्थामार्फत नै प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले यो संशोधनलाई “सामाजिक उत्तरदायित्वलाई प्रत्यक्ष जनजीवनसँग जोड्ने प्रयास” का रूपमा व्याख्या गरेको छ ।