चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनामा डिजिटल भुक्तानी प्रणाली प्रयोगमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, दुई महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख कारोबारमार्फत रु ८७ अर्ब ३२ करोड बराबरको भुक्तानी गरेका छन् ।
त्यसैगरी, मोबाइल बैंकिङ प्रणालीमार्फत ६ करोड २५ लाख कारोबारबाट रु ४ खर्ब ६८ अर्ब १५ करोड बराबरको भुक्तानी भएको छ । क्यु–आर कोड मार्फत गरिएको भुक्तानीमा पनि ४ करोड १० लाख कारोबारबाट रु १ खर्ब १ अर्ब २३ करोड बराबरको लेनदेन भएको तथ्यांकले देखाएको छ ।
यो तथ्यांकले डिजिटल भुक्तानी प्रणालीमा आम नागरिकको विश्वास र प्रयोग दुवै बढिरहेको स्पष्ट देखाउँछ । बैंक तथा वित्तीय विशेषज्ञका अनुसार, मोबाइल बैंकिङ र क्यु–आर कोड भुक्तानीले नगदको प्रयोग घटाउन र भुक्तानी प्रणालीलाई थप पारदर्शी बनाउन सहयोग पुर्याइरहेको छ ।
राष्ट्र बैंकले आगामी दिनमा डिजिटल कारोबारलाई अझ सहज र सुरक्षित बनाउन थप पहलहरू गर्ने योजना बनाएको जनाएको छ ।
