नेपालले तेस्रो पटक टी-ट्वान्टी विश्व कप खेल्ने पक्का भएको छ।
ओमानको मस्कटमा भैरहेको विश्व कप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल दुई खेल अगाडि नै १० औं संस्करणको विश्व कपमा छनोट हुन सफल भएको हो। नेपाल लगातार दोस्रो पटक विश्व कपमा पुगेको हो।
आज कतारले जापानलाई र युएईले सामोआलाई हराएपछि नेपाल र ओमान दुवैले भारत र श्रीलंकामा हुने विश्व कपमा स्थान सुरक्षित गरेका हुन्।
यसै वर्ष माघ २४ देखि फागुन २४ गतेसम्म हुने विश्व कपमा २० राष्ट्रले खेल्नेछन्। नेपाल र ओमान छनोट भएका १८ र १९ औं राष्ट्र हुन्।
क्षेत्रीय छनोटमार्फत अमेरिकी क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटाली, अफ्रिकी क्षेत्रबाट जिम्बावे र नामिबिया विश्वकपका लागि छनोट भइसकेका छन्। अब ओमानबाट अर्को एक राष्ट्रको टुङ्गो लाग्नेछ।
त्यस्तै, आईसीसी वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि भारत र श्रीलंकामा हुने ग्लोबल इभेन्टमा आफ्नो स्थान पक्का गरेका छन्। आयोजक भारत र श्रीलंका स्वत छनोट भएका हुन्।
नेपालले पहिलो पटक २०१० मा विश्व कप खेलेको थियो। त्यसको एक दशकपछि गत संस्करणमा नेपालले दोस्रो पटक विश्व कप खेलेको थियो।
