गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्माण लागि झन्डै एक करोड रकम खर्च लाग्ने अनुमान गरिएको छ ।
सोही अनुसार काम भइरहेको छ ।
‘धेरै अत्यावश्यक संरचनाहरु ध्वस्त भएका थिए । त्यसमध्ये हामीले के गर्ने भनेर साथीहरुबीच सल्लाह भयो ।
र केही साथीहरु मिलेर केही रकम संकलन गरेर करिब एक करोडको लागतमा कन्ट्रोल रुम बनाइरहेका छौं र केही समयमा निर्माण सम्पन्न हुनेछ,’ उनल अगाडि भने,‘नेपाल सरकारका मन्त्री कुलमान घिसिङले हामीलाई सवारी लाइसन्स छाप्ने मेसिन खरिद गरिदिनुहोस भन्नुभएको छ । त्यसमा हामी सकारात्मक छौं ।’
‘पहिलो चरणमा ट्राफिक कन्ट्रोल रुम, दोस्रोमा लाइसन्स मेसिन र तेस्रोमा ब्रेथलाइजर मेसिन खरिद गरेर सरकारलाई सहयोग गर्ने कि भन्ने सल्लाहमा छौं,’ अध्यक्ष श्रेष्ठले भने ।
सडक सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण स्थानको रूपमा रहेको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि लाग्ने सबै खर्च एनआरएनएले नै व्यहोर्ने निर्णय गरेको हो ।
बग्गी खाना ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरको ट्राफिक व्यवस्थापन प्रभावकारी हुने अनुमान गरिएको छ ।
