जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको यातायात व्यवस्था विभाग अब बिस्तारै पुरानै लयमा फर्किन थालेको छ। आन्दोलनपछि सेवा अवरुद्ध रहेका विभागले छठ पर्व सकिएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा पुनः सुरु गर्ने तयारी गरेको छ।
विभागका अनुसार छठपछिबाट लाइसेन्स नवीकरण र नयाँ आवेदन दुवै प्रक्रिया खुला गरिनेछ। हाल पुरानो पार्किङ स्थलमार्फत सीमित सेवा प्रदान गरिँदै आएको भए पनि, अब विस्तारै पूर्ण सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ।
तर, नयाँ लाइसेन्स कार्ड छपाइ भने तुरुन्तै सुरु नहुने विभागले स्पष्ट पारेको छ। विभागका अनुसार आवश्यक प्रिन्टर र कार्ड खरिद प्रक्रिया अझै पूरा हुन बाँकी भएकाले नयाँ लाइसेन्स वितरणमा करिब तीन महिना लाग्नेछ।
यसबीचमा, विभागको क्षतिग्रस्त भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र सिप्रदी ट्रेडिङ प्रालिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
स्रोतका अनुसार, विभागले मर्मत र उपकरण खरिद दुवै कार्यलाई तीव्र बनाउँदै सेवा पूर्ण रूपमा पुनः सञ्चालन गर्ने लक्ष्य लिएको छ।
