वीरेन्द्रबस्नेतको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार

बुद्ध एयरका प्रबन्ध निर्देशक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, दिनेश प्रसाईं र पियुश कायस्थ मिलेर नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गराएका छन्।

बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा दिनेश प्रसाईं, महासचिवमा पियुश कायस्थ, र सदस्यमा वीरेन्द्रबहादुर बस्नेत रहेका छन्। “सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ” नाराका साथ अघि बढ्ने पार्टीले विगतका राजनीतिक दलप्रति जनस्तरमा चुलिँदो असन्तुष्टिलाई सम्बोधन गर्ने दाबी गरेको छ।

 पेशावादको अन्त्य र पारदर्शितामा प्रतिबद्धता

पार्टीले जारी गरेको आह्वान पत्रमा गत भदौ २४ को ‘जेन जेड आन्दोलन’ ले देखाएको जनशक्ति र असन्तोषलाई सम्हाल्न असफल वर्तमान राजनीतिलाई वैकल्पिक दिशा दिन नयाँ दल उदाएको उल्लेख छ।

पार्टीले राजनीतिलाई पेशा बनाउने प्रवृत्तिको आलोचना गर्दै नागरिक–केन्द्रित, पारदर्शी र जवाफदेही शासन प्रणाली अघि सारेको छ। पुराना दलहरूको चरम भ्रष्टाचार, सत्ता स्वार्थ र पहुँच आधारित संरचना अन्त्य गर्दै नयाँ राजनीतिक संस्कार विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

देशभर सुशासन, उद्यमशीलता र समता लागू गर्ने पार्टीले संघीय स्तरमा प्रत्येक एजेण्डामा महासचिव र प्रदेश तथा पालिकामा सचिव रहने खाका तय गरेको छ।

नयाँ राजनीतिक ढाँचा

पार्टीले एक व्यक्ति एक पद र दुई कार्यकालको सीमा, सार्वजनिक पद र पार्टी पद फरक राख्ने व्यवस्था, पार्टी आम्दानी–खर्चको अनलाइन सार्वजनिक गर्ने, र हरेक गतिविधिमा डिजिटल पारदर्शिता अपनाउने जनाएको छ।

साथै, २० प्रतिशतभन्दा कम मत पाए सरकारमा सहभागी नहुने अडानले पार्टीको फरक पहिचान तय गरेको छ। पार्टीले तिहारपछि विस्तृत घोषणापत्र र कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिय बहसको वातावरण निर्माण गर्ने तयारी गरेको छ।

विधिको शासन र उद्यमशीलताको सम्मान

पार्टीले विधिको शासनलाई लोकतन्त्रको मेरुदण्ड मानेको छ र यसलाई राजनीतिक नेता, कर्मचारी, व्यापारी र उच्चपदस्थ सबैमा समान रूपमा लागू गर्नुपर्ने जनाएको छ।
‘बेबी बुमरदेखि जेन जेड, अल्फा र बिटा’ सम्म सबैलाई विधिको शासनमा बाँध्ने धारणा अघि सारिएको छ।

उद्यमशीलता र निजी क्षेत्रलाई अर्थतन्त्रका खम्बा मानेर, स्वरोजगार सिर्जना गर्ने, कर तिर्ने र राष्ट्र निर्माणमा योगदान दिने उद्यमीलाई सम्मान र संरक्षण गर्ने नीति अघि सारिएको छ।

आम नागरिक र भविष्यका पुस्ताको प्रतिबद्धता

पार्टीले देशलाई समृद्धितर्फ उकास्न सबै नागरिक, उद्योगी, प्रशासक र पेशेवर वर्गलाई एकजुट हुन आह्वान गरेको छ। विरोधको राजनीति र पेशागत स्वार्थ फेरि प्रश्रय पाएमा देश गहिरो अन्धकारमा जाने चेतावनी दिँदै, अबको राजनीतिलाई सोचयुक्त, सिर्जनशील, ईमानदारीमा आधारित र त्यागपूर्ण हुनुपर्ने अडान दोहोर्याएको छ।

गतिशील लोकतान्त्रिक पार्टीले नियमसंगत राजनीतिक संस्कार विकास गर्दै, आजको र भावी पुस्ताका लागि समावेशी र समतामूलक उज्यालो भविष्य सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।

  • Clock icon
    २०८२ आश्विन ३०, बिहीबार