नेपाल राष्ट्र बैंकले काठमाडौं बाहिरका शाखाबाट कार्यसङ्गठनका लागि राजधानी आउने कर्मचारीहरूलाई सहज आवास व्यवस्था मिलाउन होटल, अतिथि गृह वा गेष्टहाउसहरूसँग सम्झौता गर्न प्रस्ताव मागेको छ।
बिहीबार जारी सार्वजनिक सूचनामा बैंकले इच्छुक सेवा प्रदायकहरूलाई १५ दिनभित्र प्रस्ताव पठाउन आह्वान गरेको हो। बैंकका अनुसार यो पहलको उद्देश्य राजधानीमा अस्थायी रूपमा बस्ने कर्मचारीहरूको आवास व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने हो।
राष्ट्र बैंकले काठमाडौंको बालुवाटार, थापाथली, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट र सिनामंगल क्षेत्र वरपरका स्थानहरूमा पर्ने होटल वा गेष्टहाउसलाई प्राथमिकता दिने जनाएको छ। यी स्थानहरू चक्रपथभित्र ५०० मिटरको दायरा भित्र पर्ने हुनुपर्छ।
सेवा प्रदायकका लागि बैंकले १९ बुँदे मापदण्ड तय गरेको छ। त्यसमा सफा र सुरक्षित कोठा, गुणस्तरीय खानपान, २४ घण्टा सुरक्षा, निःशुल्क इन्टरनेट, स्वच्छ सरसफाइ र कर्मचारीको गोपनीयता सुनिश्चित हुने प्रावधानहरू समावेश छन्।
बैंकका अनुसार होटल वा गेष्टहाउस प्रयोग भएको दिन र कर्मचारीको संख्याका आधारमा मात्र मासिक रूपमा भुक्तानी गरिनेछ। भुक्तानी सीधा कम्पनीको खातामा गर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले यस व्यवस्थाले कर्मचारीहरूलाई राजधानीमा बसोबासका कठिनाइबाट मुक्ति दिलाउने र संस्थागत कार्यक्षमता बढाउने अपेक्षा गरेको छ।
3.-होटलसँग-सेवा-खरिदका-लागि-सिलबन्दी-प्रस्ताव-आव्हानको-सूचना-।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
                             
                             
                            