अमेरिकाभर ‘नो किंग्स’ आन्दोलन, ट्रम्पका नीतिविरुद्ध लाखौं नागरिक सडकमा

अमेरिकाका प्रमुख सहरहरूमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिविरुद्ध देशव्यापी प्रदर्शन भएको छ। “नो किंग्स” नामक नागरिक आन्दोलनअन्तर्गत आयोजित यो प्रदर्शन हालसम्मको सबैभन्दा ठूलो समन्वित विरोध प्रदर्शनमध्ये एक मानिएको छ।

न्युयोर्क सिटी, वासिङ्टन डीसी, शिकागो, मियामी र लस एञ्जलस लगायत सहरहरूमा दशौँ हजार नागरिक सडकमा उत्रिए। न्युयोर्कमा विशेष रूपमा टाइम्स स्क्वायर प्रदर्शनको केन्द्रबिन्दु बन्यो, जहाँ हजारौँ नागरिक “Democracy not Monarchy” र “The Constitution is not optional” लेखिएका प्लेकार्डसहित उभिएका थिए।

न्युयोर्क पुलिस विभाग (NYPD) का अनुसार ७औं एभेन्यु हुँदै २० हजारभन्दा बढीले मार्च गरेका थिए, भने पाँचै बरोमा सहभागीहरूको संख्या एक लाखभन्दा बढी पुगेको अनुमान गरिएको छ।

हेलिकोप्टर र ड्रोनले प्रदर्शनको दृश्य हवाई रूपमा कैद गर्दा “This is what democracy looks like” भन्ने नाराले सम्पूर्ण टाइम्स स्क्वायर गुञ्जिएको थियो। प्रदर्शनकारीहरूले ढोल, घण्टी र नाइजमेकर्स बजाउँदै उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा आफ्नो असन्तोष व्यक्त गरेका थिए।

आयोजक “नो किंग्स” अभियानले प्रदर्शनलाई पूर्ण रूपमा अहिंसात्मक राख्ने प्रतिबद्धता जनाउँदै सहभागीहरूलाई तनाव नबढाउन र शान्तिपूर्ण विरोधमा ध्यान केन्द्रित गर्न आग्रह गरेको थियो। उनीहरूले भनेका छन्, “हिंसा होइन, लोकतान्त्रिक आवाज हाम्रो हतियार हो।”

प्रदर्शन अघि ट्रम्पका समर्थकहरूले यस आन्दोलनलाई Antifa समूहसँग जोड्दै “देशद्रोही अभियान”को संज्ञा दिएका थिए। तर, शनिबारका प्रदर्शनहरू पूर्णतः शान्तिपूर्ण रहनुका साथै कुनै गिरफ्तारी नभएको स्थानीय प्रशासनले जनाएको छ।

पूर्वदेखि पश्चिमसम्म फैलिएको यस आन्दोलनले अमेरिकी जनतामा लोकतन्त्र र संविधानप्रतिको निष्ठा पुनः सशक्त रूपमा प्रकट गरेको देखिएको छ। प्रदर्शनकारीहरूले नागरिक अधिकार, स्वतन्त्रता र पारदर्शिताका मूल्यहरूलाई ट्रम्प प्रशासनका नीतिहरूले कमजोर पारेको आरोप लगाएका छन्।