सुनको मूल्य आइतबार नेपाली बजारमा प्रतितोला रूपैयाँ ४,८००ले घटेको छ। शुक्रबार इतिहासकै उच्च मूल्यमा पुगेको सुन साप्ताहिक पहिलो कारोबार दिनमै घटेर रूपैयाँ २ लाख ५३ हजार २०० प्रतितोलामा झरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारसम्म सुनको मूल्य प्रतितोला रूपैयाँ २ लाख ५८ हजार पुगेको थियो, जुन हालसम्मको सबैभन्दा उच्च दर थियो। तर, अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव र माग घटेपछि आइतबार देशभरका बजारमा मूल्यमा उल्लेखनीय गिरावट आएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। शुक्रबार प्रतितोला रूपैयाँ ३,३५०मा कारोबार भएको चाँदी आइतबार घटेर रूपैयाँ ३,२७५मा पुगेको महासंघले जनाएको छ।
