सेनाका कर्णेलहरु पक्राउ

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार

जेन–जी आन्दोलनसँग जोडिएका गतिविधिमा संलग्न भएको आशंकामा नेपाली सेनाले सैनिक प्रहरीमार्फत् आफ्ना केही वरिष्ठ अधिकृतलाई नियन्त्रणमा लिएको दाबीसहित समाचारहरु सार्वजनिक भइरहेका छन्।

तर, नेपाली सेनाले भने यसबारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया नदिएपछि विषय सतहमै ‘चर्चा’ को रूपमा सीमित छ। केही सामाजिक सञ्जालमा अनौपचारिक स्रोतहरूलाई उद्धृत गर्दै आएका खबरहरु अनुसार सिंहदरबारस्थित नरसिंहदल गणका गणपति सेनानी लेफ्टिनेन्ट कर्णेल गणेश खड्का, भवानीबक्स गणका गणपति तेजेन्द्र मगर र कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकका कर्णेल शिव भडेललाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भनिएको छ।

तर यी सबै दाबीबारे विश्वसनीय आधिकारिक जानकारी कुनै पनि पक्षबाट प्राप्त भएको छैन।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयसँग सम्पर्क गर्ने प्रयास हुँदा समेत यसबारे कुनै जानकारी दिन नसक्ने भनिएको छ। यद्यपि, सेनाले आफ्ना केही विभिन्न युनिटका अधिकारीहरुलाई सोधपुछ गरेको र उनीहरुको संलग्नता, सहयोगलगायतका गैरसैनिक गतिविधिका बारेमा अनुसन्धान गरिरहेको भए पनि हिरासतमा नै लिएको भने नभएको सैन्यले जनाएको छ ।

यसअघि जेन–जी आन्दोलनका क्रममा केही सैनिक तथा सुरक्षा निकायका व्यक्तिहरू सामाजिक सञ्जालमा सक्रिय भएको आरोप लागेपछि सेनाभित्र आन्तरिक निगरानी कडा बनाइएको चर्चासमेत आएको थियो।

अनुशासन उल्लंघन, सूचना चुहावट र आन्तरिक संलग्नतासम्बन्धी आन्तरिक छानबिन भइरहेको बताइए पनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

 

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार