के गङ्गाजल पवित्र हो ?

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार

सन् १८९० को दशकमा प्रसिद्ध बृटिस वैज्ञानिक अर्नेस्ट ह्यान्किनले भारतको गङ्गानदीको पानीका बारेमा अनुसन्धान गरिरहेका थिए । त्यस बेला हैजाको महामारी फैलिएको थियो ।

मानिसका लासहरु गङ्गानदीमा फालिएको अवस्था थियो । यस नदीमा नुहाउनेहरुमा पनि हैजा सर्ला भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन । त्यस बेला उनी गङ्गानदीको पानीको प्रभाव देखेर चकित परेका थिए ।

त्यसको २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले ह्यान्किनको अनुसन्धानलाई पुनः अगाडि बढाए । उनले गङ्गाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरियाभित्र छिरेर त्यसको नष्ट गरिरहेको पत्ता लगाए ।

त्यही गङ्गानदीमा पाइने भाइरस यहाँको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार भएको रहस्य खुल्यो । ती भाइरसलाई आजकल निन्जा भाइरस भनेर चिनिन्छ, जसले ब्याक्टेरियालाई मारिदिन्छ ।

यी सबै कुरालाई विचार गर्दा गङ्गानदीमा नुहाउँदा रोग लाग्ने होइन, बरु रोग लाग्ने सम्भावना कम हुने रहेछ । यहाँको निन्जा भाइरसले हाम्रो शरीरमा रहेको हानिकारक ब्याक्टेरिया मार्ने हुन्छ ।

त्यसैले पनि गङ्गानदीमा नुहाउनु र यहाँको जल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । भनिन्छ, गङ्गाको पानी बिग्रँदैन, दुर्गन्ध आउँदैन र यसमा लेउ लाग्दैन ।

न्युजिल्यान्डको म्यासी विश्वविद्यालयकी हिथर हेन्ड्रिक्सनले निन्जा भाइरसमाथि अनुसन्धान गरिरहेको कुरा पनि प्रकाशमा आएको थियो ।

अहिलेको एन्टिबायोटिक औषधिले काम गर्न छोडेको अवस्थामा यही गङ्गानदीको जलमा पाइने भाइरसलाई उपयोगमा ल्याएर उपचार गर्ने दिन नआउला भन्न सकिन्न ।

त्यस बेला गङ्गाजलको महत्व झनै बढ्नेछ ।

बरु गङ्गानदीमा बढ्दै गएको प्रदूषणलाई नियन्त्रण गरी निन्जा भाइरसलाई बचाइराख्ने अभियानमा भने अहिलेदेखि नै लाग्नुपर्ने देखिन्छ ।

नत्र पछि गएर गङ्गानदी पवित्र होइन कि अपवित्र नदीको रुपमा परिचित नहोला भन्न सकिन्न ।

भारतको गङ्गा नदीको कुरा मात्र होइन, नेपालकै कालीगण्डकीको पानीमा पनि निन्जा भाइरस हुन सक्ने कागबेनीको पानीमा गरिएको एक प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रतीक्षा गरौं, यसको विस्तृत विवरण कुनै बेला आउला । त्यसपछि शालिग्राम मात्र नभएर यहाँको जलको पनि महत्व बढ्नेछ ।

वास्तवमा जान्नको लागि यस सम्बन्धी अध्ययनको आवश्यकता पर्छ ।

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार