‘जेनजी आन्दोलन’को झड्का बीमा क्षेत्रमा : २३ अर्बभन्दा बढीको दावी, भुक्तानी सुरु

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सडकमा मात्रै होइन, अब बीमा कम्पनीका फाइल र फारामहरूमा पनि गहिरो असर छोडेको छ। आन्दोलनका क्रममा सयौं सवारीसाधन ध्वस्त भए, भवन र व्यवसाय जलेर खरानी बने, जसको क्षतिपूर्ति माग गर्दै अहिले हजारौं बीमितले दावी पेश गरिरहेका छन्।

नेपाल बीमा प्राधिकरणका पछिल्ला तथ्यांकअनुसार हालसम्म ३ हजार ६३ वटा बीमा दावी पेश भएका छन्, जसको कुल मूल्य २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। तीमध्ये कम्पनीहरूले हालसम्म १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

मोटर बीमा अन्तर्गत मात्रै २ हजार २५६ वटा दावी दर्ता भएका छन्। आन्दोलनका क्रममा क्षति पुगेका निजी सवारीसाधनका लागि ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको दावी आएको छ। त्यसमध्ये कम्पनीहरूले ३६ करोड २५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ।

सबैभन्दा ठूलो क्षति सम्पत्ति बीमा क्षेत्रमा परेको छ। यस अन्तर्गत हालसम्म ६७३ वटा दावी दर्ता भई १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ। कम्पनीहरूले यसबीचमा १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

त्यस्तै, इन्जिनियरिङ र ठेक्का जोखिम बीमा अन्तर्गत ३३ करोड १८ लाख, परिवहन बीमामा १ करोड ६३ लाख, र अन्य बीमा शीर्षकमा ३८ करोड ८६ लाख रुपैयाँ बराबरका दावी दर्ता भएका छन्।

बीमा कम्पनीहरूले दावी मूल्यांकन र कागजात प्रक्रिया पूरा भएका घटनामा तत्काल भुक्तानी दिइरहेका छन्। बीमा प्राधिकरणका अनुसार, दावी पेश गर्ने क्रम अझै बढ्दो छ र आगामी दिनमा यसको परिमाण थप ठूलो हुने अनुमान गरिएको छ।

बीमा क्षेत्रका एक अधिकारीले भने: “जेनजी आन्दोलनले बीमा बजारमा जोखिम व्यवस्थापनको वास्तविक परिक्षा लिएको छ। अहिलेको प्राथमिकता शीघ्र भुक्तानी र बीमितको मनोबल कायम राख्नु हो।”

यससँगै, जेनजी आन्दोलनको आर्थिक प्रभाव अब सडक र राजनीति मात्रै होइन, बीमा बजारसम्म गहिरो रूपमा फैलिएको स्पष्ट देखिन थालेको छ।

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार