सानाए ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनिन्

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार

जापानको संसदले मंगलबार कट्टर रूढिवादी सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। पितृसत्तात्मक जापानमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको राजनीतिक परिप्रेक्ष्यमा यो एक ऐतिहासिक क्षण मानिन्छ।

आर्थिक चुनौती र विभाजित राजनीतिक परिवेशमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणअघि नै ताकाइचीले जिम्मेवारी सम्हालेकी छन्। तर उनका गहिरा रूढिवादी विचारहरू पार्टीका मध्यमार्गी सदस्यहरूको लागि चिन्ताको विषय बनेका छन्।

उनले जापानको शान्तिवादी संविधान संशोधनको समर्थन गर्छिन् र विवादास्पद युद्ध स्मारक भ्रमण गर्ने गर्दछन्, जसमा दोस्रो विश्वयुद्धका युद्ध अपराधीहरूको नाम समावेश छ। समलिङ्गी विवाह र विवाहित जोडीहरूलाई फरक थर प्रयोग गर्न दिने अभियानको विपक्षमा पनि उनी छन्।

चीनप्रतिको उनको कठोर अडानले क्षेत्रीय सम्बन्धहरू जटिल बनाउन सक्छ, भने उच्च मुद्रास्फीति र जीवनयापन लागतको समयमा ठुलो खर्च र कर कटौती गर्ने उनको आर्थिक नीति कतिपय नागरिकलाई चिन्तित बनाएको छ।

तानाइची अक्टोबर सुरुमा एलडीपीको नेता चुनिएकी थिइन्। उनका नेतृत्वमा एलडीपीको झुकाव थप दक्षिणपन्थी भएको संकेत देखिन्छ। संसद्का दुवै सदनबाट निर्वाचित भए पनि उनले अब १२ करोड जापानी नागरिकको अपेक्षा सम्बोधन गर्नु पर्नेछ। मुख्य चुनौतीमध्ये खाद्य वस्तु मूल्य नियन्त्रण, घट्दो जन्मदर, कार्यशक्ति खुम्चिँदै जाने, र वृद्ध जनसंख्या रहेका छन्।

सानाए ताकाइचीको परिचय:
सन् १९६१ मा नारा प्रिफेक्चरमा जन्मेकी ताकाइचीका बुबा कार्यालय सहयोगी र आमा प्रहरी अधिकृत थिइन्। उनको बाल्यकाल राजनीतिसँग सम्बन्धित थिएन। एक समयमा उनी हेभी मेटल ड्रमरको रूपमा परिचित थिइन् र तीव्र ड्रमिङका क्रममा स्टिक भाँच्ने भएकाले प्रसिद्ध थिइन्।

राजनीतिमा उनको प्रेरणा सन् १९८० को दशकमा अमेरिका–जापान व्यापार द्वन्द्वको समयमा आयो। सन् १९९६ मा एलडीपीबाट संसदीय सिट जितेकी उनले १० पटक सांसदको रूपमा निर्वाचित भइन् र पार्टीको मुखर रूढिवादी आवाजको ख्याति कमाइन्। दुई असफल प्रयासपछि एलडीपीको नेतातर्फ उठेकी उनी यसरी प्रधानमन्त्री बन्न सफल भइन्।

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार