गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कलाकारहरूको टोलीसँग भेट गरेका छन्। मन्त्रीलाई भेट्न कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायत कलाकारहरू पुगेका थिए।
कलाकार ऋचा शर्माका अनुसार, मन्त्री अर्यालले समसामयिक परिस्थिति र विभिन्न क्षेत्रका कामबारे छलफल गर्न सबैलाई बोलाएका हुन्। उनी भन्छिन्, “उहाँले बाहिरबाट हामीले गरिरहेको काम कस्तो देखिन्छ, हामीले गरेका काम र कुरामा के महसुस गर्नु भयो भनेर सोध्नुभयो।”
भेटमा कलाकारहरूले मन्त्रीसँग सुझाव पनि प्रस्तुत गरेका थिए। ऋचा शर्माले भनिन्, “मन्त्रीले कसरी अझै बेटर गर्न सकिन्छ, के के कुरा पुगिरहेको छैन भन्ने विषयमा छलफल गर्नुभयो। हामीले भइरहेको काम खुलस्त रूपमा जानकारी गराउन सुझाव दिएका थियौं।”
कलाकारहरूले भेटमा २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्ने, जेनजी आन्दोलनका शहीदलाई न्याय दिने लगायतका विषयमा सुझाव दिएका थिए।
यस भेटका क्रममा कलाकार र गृहमन्त्रीबीच पारदर्शी छलफल भएको र सुझाव आदान–प्रदान गरिएको बताइएको छ।
