‘रुसबाट धेरै तेल नकिन्नू’ – ट्रम्पले मोदीलाई अनुरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको रूसी तेल आयातबारे चर्चा गरेको दाबी गरेका छन् ।

उनले गएराति ओभल अफिसमा आयोजित दीपावली समारोहपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा गरेका हुन् । रा

ष्ट्रपति ट्रम्पले भारतसँगको सम्बन्धलाई अत्यन्त ‘सकारात्मक’ बताउँदै दुवै देशबीच ‘केही ठूला सम्झौताहरूमा’ काम भइरहेको जानकारी दिए ।

उनले प्रधानमन्त्री मोदीसँगको आफ्नो सम्बन्धलाई ‘धेरै राम्रो र भरपर्दो’ भन्दै भारतका जनताप्रति गहिरो स्नेह प्रकट गरे । “म भारतका जनतालाई माया गर्छु”, ट्रम्पले भने, “हामी हाम्रा दुई देशबीच केही महत्त्वपूर्ण सम्झौताहरूमा काम गर्दैछौँ । मैले आज प्रधानमन्त्री मोदीसँग कुरा गरेँ र हाम्रो सम्बन्ध अत्यन्तै राम्रो छ । उहाँले रुसबाट धेरै तेल किन्नु हुनेछैन । उहाँ पनि मेरो जस्तै युद्धको अन्त्य चाहनुहुन्छ । उहाँ रुस र युक्रेनबीचको युद्ध सकिएको देख्न चाहनुहुन्छ । त्यसैले भारतले रूसी तेल खरिद घटाएको छ र अझ फिर्ता गर्दैछ ।”

प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग भएको कुराकानीको पुष्टि गरेका छन् तर तेल खरिदको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखे, “राष्ट्रपति ट्रम्प, फोन कल र दीपावलीको हार्दिक शुभकामनाका लागि धन्यवाद ।

प्रकाशको यस पर्वमा हाम्रो दुई महान लोकतन्त्रले विश्वलाई आशाको उज्यालोले झलमल्ल पारोस् र सबै प्रकारका आतङ्कवाद विरुद्ध एकताबद्ध रहोस् ।”

यसअघि अक्टोबर १८ मा ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भोजका क्रममा पनि राष्ट्रपति ट्रम्पले भारतले रुसबाट तेल खरिदमा ‘उल्लेखनीय कटौती’ गरेको र ‘अब पूर्ण रूपमा फिर्ता लिइरहेको’ दाबी गरेका थिए । उनले त्यतिबेला भनेका थिए, “भारतले अब रुसबाट तेल खरिद गर्ने छैन । हङ्गेरी केही अड्किएको अवस्थामा छ किनकि उनीहरूका लागि पुरानो पाइपलाइन छ र समुद्र छैन । मैले उनीहरूका नेतासँग पनि कुरा गरेँ, तर भारतले अब रूसी तेल किन्ने छैन ।”

ट्रम्पका यी अभिव्यक्तिहरू युक्रेनमा जारी युद्ध र त्यससँग सम्बन्धित भू–राजनीतिक दबाबको सन्दर्भमा आएका हुन् । पश्चिमी मुलुकहरूले रूससँगको ऊर्जा व्यापारले मस्कोको सैन्य आक्रमणलाई सहयोग गरेको आरोप लगाउँदै त्यसमा कमी ल्याउन आग्रह गर्दै आएका छन् । अक्टोबर १६ मा भारतले राष्ट्रपति ट्रम्पका उक्त दाबीहरूको प्रतिक्रिया दिँदै देशको ऊर्जा नीति राष्ट्रिय हित र भारतीय उपभोक्ताको सुरक्षा आवश्यकताबाट निर्देशित छ भनी स्पष्ट पारेको थियो ।

भारतले लामो समयदेखि रूसी तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि अपरिहार्य बताउँदै आएको छ । राष्ट्रपति ट्रम्पले यसअघि पनि प्रधानमन्त्री मोदीले रूसी तेल खरिद रोक्ने आश्वासन दिएको र यो कदम मस्कोमाथि विश्वव्यापी दबाब बढाउने दिशामा ‘ठूलो कदम’ भएको दाबीको अ‍ेमिरकी समाचार सस्था सीएनएनले जनाएको छ ।