नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफ्नाप्रति व्यक्तिगत द्वेष देखाएको आरोप लगाएका छन्। बुधबार भक्तपुरको बालकोटस्थित आफ्नो घरमा आगजनीको निरीक्षणपछि ओलीले यस्तो टिप्पणी गरेका हुन्।
ओलीले सरकारसमक्ष बारम्बार आग्रह गर्दा पनि घटनामा संलग्न व्यक्तिहरूलाई अहिलेसम्म कारबाही नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाए। उनका अनुसार गृहमन्त्रीले नै अपराधीलाई उन्मुक्ति दिन आदेश दिएका छन्।
“हिजो मात्रै मैले गृहमन्त्रीको अन्तर्वार्ता हेरेँ,” ओलीले भने, “उनको हाउभाउ, संस्कार, उद्देश्य र गन्तव्य सबै कुरा हेर्दा उनको नियत प्रष्ट देखिन्छ। त्यस अन्तर्वार्ताबाट सरकारको सोच, उद्देश्य र बाटो सबै बुझिन्छ। गृहमन्त्रीको नियत पूर्ण रूपमा देखियो।”
ओलीले वर्तमान सरकार तोडफोड र लुटपाट गर्नेहरूलाई संरक्षण दिनेतर्फ झुकेको आरोप लगाए। उनले थपे, “सरकारको प्रवृत्ति पीडितमाथि शत्रुता देखाउने खालको छ, र त्यो शत्रुता व्यक्तिगत रूपमा मप्रति पनि प्रष्ट देखिन्छ।”
उनका अनुसार आफूले कुनै हद ननाघेको र उक्त घटनामा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भए पनि सरकारको गतिविधिबाट गम्भीर शंका उत्पन्न भएको छ।
ओलीले थप आरोप लगाउँदै भने, “सरकारले आफूलाई ‘जेन जेड’ भन्ने युवाहरुलाई बोलाएर हाम्रै विरुद्ध दबाब सिर्जना गर्न लगाएको छ। उनीहरूलाई ‘हामीमाथि दबाब बढाऊ, अपशब्द प्रयोग गर, त्यसपछि हामी भन्छौं दबाबका कारण यस्तो कदम चाल्यौं’ भनेर निर्देशन दिइन्छ।”
उनले यस्तो नियोजित गतिविधि मार्फत सरकार कुनै ठूला कारबाही गर्न खोजिरहेको आशंका व्यक्त गरे। “मलाई गम्भीर शंका छ, सरकार केही गर्न खोज्दैछ,” ओलीले भने, “यो सबै योजनाबद्ध रूपमा भइरहेको छ, जसबाट सरकारको नियत र चरित्र प्रष्टै देखिन्छ।”
