संयुक्त राष्ट्रसंघ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वग्रस्त देशहरूमा तैनाथ शान्ति सैनिकहरूको संख्या २५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ। यस निर्णयसँगै नेपालबाट पनि केही संख्यामा सैनिक घटाइने भए पनि नेपाल शीर्ष योगदानकर्तामध्ये रहिरहने भएको छ।
हाल विश्वभरका १४ वटा यूएन शान्ति मिसनमा १ लाख २० हजारभन्दा बढी शान्ति सैनिक तैनाथ छन्, जसमा १२० भन्दा बढी देश सहभागी छन्। तीमध्ये नेपालका ५ हजार ८१९ जना सैनिक विभिन्न १० मिसनमा कार्यरत छन्, जसमा ५३८ जना नेपाली सैनिक स्थायी फौजका सदस्य हुन्।
नेपाली शान्ति सैनिकहरू अनुशासन, साहस र पेशागत निष्ठाका कारण विश्वभर प्रशंसित छन्। अहिलेसम्म १ लाख ५९ हजार ६६४ जना नेपाली सैनिकहरूले राष्ट्रसंघीय मिसनमा सेवा पुर्याइसकेका छन्, र सोही संख्यामा उनीहरूले संयुक्त राष्ट्रसंघको सम्मान पदक प्राप्त गरेका छन्।
यस अवधिमा ७४ जना नेपाली सैनिकले शान्ति मिसनका क्रममा ज्यान गुमाएका छन् भने ७५ जना गम्भीर घाइते भएका छन्। यूएनको यो कटौती नीति सबै योगदानकर्ता देशहरूमा समानुपातिक रूपमा लागु हुने बताइएको छ।
यद्यपि सैनिक संख्यामा कटौती भए पनि नेपाल अन्तर्राष्ट्रिय शान्ति स्थापनाप्रति प्रतिबद्ध रहेको जनाइएको छ। आवश्यक परे नेपालले १० हजारसम्म सैनिक पठाउन सक्ने क्षमता राख्दछ।
शान्ति मिसनमार्फत नेपाली सैनिकहरूले न केवल विश्व शान्तिमा योगदान पुर्याइरहेका छन्, तर यसले नेपालको कूटनीतिक सम्बन्ध मजबुत बनाउन र राष्ट्रसंघीय भुक्तानीमार्फत विदेशी आम्दानी बढाउन पनि सहयोग पुर्याएको छ।
