महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा काभ्रेका कोकिल शाही, रामेछापका सिर्जन अधिकारी र सर्लाहीका हेम तामाङ रहेका छन्।

ललितपुर प्रहरीका अनुसार हेम तामाङलाई मंगलबार साँझ एकान्तकुनाबाट पक्राउ गरिएको हो भने सिर्जन अधिकारी र कोकिल शाहीलाई काठमाडौं upत्यकाको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सातदोबाटो क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

ललितपुर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार पक्राउ परेकामध्ये तामाङ सवारी साधनसहित पक्राउ परेका छन्। उनको स्कुटर (नं. बा ९० प १६१३) पनि प्रहरीले बरामद गरेको छ।

घटना असोज ३ गते साँझ घटेको हो। महानिर्देशक अधिकारी सातदोबाटो नजिक पैदल हिँडिरहेका बेला स्कुटरमा आएका व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए। त्यसपछि ती व्यक्ति घटनास्थलबाट फरार भएका थिए।

घटनापछि प्रहरीले आसपासका CCTV फुटेजको सहयोगमा आरोपितहरूलाई पहिचान गरेको जनाएको छ। “फुटेजमार्फत ती व्यक्तिहरूको गतिविधि स्पष्ट देखिएपछि अपराध अनुसन्धान कार्यालय र हाम्रो टोलीले संयुक्त रूपमा खोजी गरी पक्राउ गरेको हो,” एसएसपी बोगटीले जानकारी दिए।

हाल तीनै जना आरोपितहरूलाई ललितपुर प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।