जेनजी आन्दोलनले नेपाली पर्यटनलाई चौथो झटका

काठमाडौंको मुटुबाट सुरु भएको जेनजी आन्दोलनले नेपालका हिमालदेखि तराईसम्मको पर्यटन बजारलाई ठूलो धक्का दिएको छ। हिमाली ट्रेकिङ मार्गदेखि काठमाडौंको ऐतिहासिक दरबार क्षेत्रसम्म चहलपहल हुनै लाग्दा, आन्दोलनले वातावरणलाई मौन बनाइदियो।

कोभिडको प्रभाव, आर्थिक सुस्ती र राजनीतिक अनिश्चितताबाट उबिर्न खोजिरहेको नेपाली पर्यटन उद्योगलाई गत भदौ २३ र २४ गतेको आन्दोलनले थप चुनौती दिएको छ। यस सिजनमा होटलहरूको कोठा ८० प्रतिशतसम्म भरिनुपर्ने अपेक्षा गरिएको थियो, तर राजधानीका सडक सामान्य देखिए पनि पर्यटनको मुटु धरमराइरहेको छ।

विदेशी पर्यटक एयरपोर्टमा न्यून मात्रामा देखा परिरहेका छन् भने ट्राभल एजेन्सीको फोन घण्टी पनि कम बजिरहेको छ। दशैं–तिहारको लामो बिदा र सेप्टेम्बर–नोभेम्बरको ‘पिक सिजन’को तयारीमा रहेका व्यवसायीहरूलाई आन्दोलनले नकारात्मक असर पुर्‍याएको छ।

दुई दिनको हिंसात्मक आन्दोलनले सडक मात्र नभई नेपाल पर्यटनको प्रतिमान पनि प्रभावित भएको छ। पाँचतारे होटल हिल्टनमा आगजनी भएको छ भने अन्य धेरै होटलहरूमा पनि क्षति पुगेको छ। आन्दोलनपछिका केही समय विदेशी एयरलाइन्सका उडान रद्द भए, केही मुलुकले भिसा प्रक्रिया रोकिएका थिए।

होटल संघ नेपाल (हान)का अनुसार करिब २५ अर्ब रुपैयाँ बराबरको होटल लगानीमा प्रत्यक्ष असर परेको छ। सबैभन्दा ठूलो क्षति राजधानीको हिल्टनमा पुगेको छ, जहाँ करिब ८ अर्ब रुपैयाँको लगानी छ। होटल अकुपेन्सी सामान्यतया अक्टोबरमा ८० प्रतिशतभन्दा माथि पुग्ने भए पनि अहिले ३०–४० प्रतिशतमा झरेको छ।

व्यवसायीहरूले सरकारी स्तरमा तत्काल पर्यटन प्रवर्द्धनको रणनीति र राहत प्याकेज आवश्यक भएको बताउँदै, अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश पठाउन पर्यटन प्रवर्द्धन बोर्डले गति दिनुपर्ने सुझाएका छन्। साथै, स्थानीय निकाय र निजी क्षेत्र फुर्तिलो भएर छोटो अवधिका प्याकेज, छूट योजना, ‘नेपाल सेफ टु ट्राभल’ अभियान, र एयरलाइनसँग सहकार्यमार्फत तत्काल सहजीकरणका उपायहरू अपनाउनुपर्ने बताएका छन्।

कोभिड, आर्थिक सुस्ती र राजनीतिक उथलपुथलपछि थपिएको जेनजी आन्दोलनको प्रभावलाई अवसरमा बदल्ने सामूहिक प्रयासमार्फत मात्रै नेपालले आफ्नो पर्यटन पहिचान फेरि विश्वमाझ चम्काउन सक्ने व्यवसायीहरूको दृष्टिकोण छ।