भारतबाट नेपालका विद्यालयहरूलाई ८१ वटा स्कुल बस उपहार

भारत सरकारले नेपालका ४८ जिल्लाका शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बस उपहार स्वरूप उपलब्ध गराएको छ। यस सहयोगमा कोशी प्रदेशका बाढी प्रभावित जिल्ला इलाम, झापा, उदयपुर साथै हिमाली र पहाडी क्षेत्रका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछामलगायत सातै प्रदेशका दुर्गम क्षेत्रसमेत समावेश छन्।

नेपालको शिक्षा क्षेत्रमा भारतको दीर्घकालीन सहयोग अन्तर्गत यो उपहार दिइएको हो। विगत ३० वर्षमा भारतले नेपालका विद्यालयहरूलाई जम्मा ३८१ वटा स्कुल बस प्रदान गरिसकेको छ।

बस हस्तान्तरण प्रक्रिया भारत सरकारको विदेश मन्त्रालय र नेपाल सरकारको परराष्ट्र मन्त्रालयको समन्वयमा सम्पन्न भएको हो। यस पहलले नेपालका विद्यार्थीहरूको विद्यालय जाने पहुँच सुधार्ने र शिक्षामा समान अवसर सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।