यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ ।
भाईटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ । पाँच दिनसम्म यमराज आफ्नी दिदी यमुनाको घरमा अतिथि बनेर बस्दा दिदीले भाइको दीर्घायुका लागि गरेको पूजाको उदाहरणबाट प्रेरित भएर यो पर्व सुरु भएको बताइन्छ । त्यसैले आजको दिन दिदीबहिनीहरूले दाजुभाइलाई टिका लगाउँछन, मिठा परिकारहरू खान दिन्छन् र ओखर, कटुस र भाइमसलाहरू अर्पण गर्दछन् ।
भाईटीकामा प्रयोग गरिने सप्त–रंगी टिका -रातो, सेतो, पहेंलो, बैजनी, हरियो, निलो र कालो इन्द्रणीको प्रतीकका रूपमा लिइन्छ ।
यसैगरी कहिल्यै नओइलाउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीक मानिन्छ । टिका लगाउने क्रममा अष्ट चिरञ्जीवीको पूजा गरी दिदीबहिनीले भाइको दीर्घायु र सुखको कामना गर्छन् ।
यस दिन ओखर फुटाउने र खाने चलनले पनि विशेष अर्थ बोकेको छ । ओखरले हाड मजबुत पार्ने, रोगव्याधी हटाउने र शरीरलाई शक्ति दिने विश्वास छ । त्यसैगरी कटुस र भाइ मसला शरीरलाई ऊर्जा दिने तत्वका रूपमा मानिन्छ । दिदीबहिनीहरूले दाजुभाइलाई मिष्ठान्न परिकार, फलफूल, वस्त्र तथा भेटी अर्पण गर्छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई माया र आशीर्वादका प्रतीकस्वरूप उपहार प्रदान गर्छन् ।
जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन उनीहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका लगाउने परम्परा पनि छ । उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्छ ।
वैदिक परम्परा, लोकसंस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने कार्य गरेको छ ।
यसरी भाईटीका बहुआयामिक सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो । जसले नेपालीपन, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउँछ ।
